जेठ २५,काठमाडौँ । फिफा वरियतामा नेपाल तीन स्थान माथि उक्लेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार जुन महिनाका लागि जारी गरेको वरियतामा नेपाल १ सय ६१ औं स्थानमा रहेको छ । दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल तेस्रो तेस्रो स्थानमा रहेको छ ।
फिफा वरियताका ९७ औं स्थानमा रहेको भारत दक्षिण एसियाली राष्ट्रमध्ये शीर्षस्थानमा छ । साफ च्याम्पियनसिप खेल्ने मध्ये माल्दिभ्स (फिफा वरियता १ सय ५०) औं दोस्रो स्थानमा छ । साफ च्याम्पियनसिप खेल्ने मध्ये नेपाल तेस्रो, भुटान (१८३) चौथो, बंगलादेश (१९४) पाँचौं , श्रीलंका (२००) छैटौं र पाकिस्तान (२०१) सातौं स्थानमा छ ।
साफ च्याम्पियनसिपबाट अलग्गिएको अफगानिस्तान फिफा वरियताको १ सय ४५ औं स्थानमा छ । फिफा वरियताको शीर्ष सात भित्र कुनै परिवर्तन भएको छैन ।
जर्मनी शीर्षस्थानमा छ भने ब्राजिल दोस्रो, बेल्जियम तेस्रो, पोर्चुगल चौथो, अर्जेन्टिना पाँचौं स्थानमा छ । त्यस्तै स्विट्जरल्यान्ड छैटौं र फ्रान्स सातौंस्थानमा छ । दुई स्थान उक्लेको पोल्यान्ड आठौं, चिली नवौं र दुई स्थान झरेको स्पेन दसौं स्थानमा छ ।