असार २५,काठमाडौँ । ग्लोबल टि-२० क्यानाडा अन्तर्गत मोन्ट्रियाल टाइगर्स र टोरन्टो नसनल्सको रोमाञ्चक खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएका छन् । सन्दीपको उत्कृष्ट प्रदर्शन बावजुद उनको टोली अन्तिम बलमा १ विकेटले पराजित हुन पुग्यो ।
पहिले ब्याटिङ गर्दै सन्दीपको टोली मोन्ट्रियाल टाइगर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७६ रन बनाउन सफल रह्यो । जवाफमा टोरन्टोले पुरा २० ओभर खेल्दै १ सय ७९ रन जोडेको हो ।
अन्तिम बलमा मोन्ट्रियाललाई १ विकेट अथवा डट बल चाहिएको थियो भने टोरन्टोलाई २ रन । टोरन्टोले अन्तिम बलमा चौका प्रहार गर्दै जित हांसिल गर्न पुग्यो ।
सन्दीपको प्रदर्शन पुनस् उत्कृष्ट रह्यो । ४ ओभर बलिङ गरेका सन्दीपले ३४ खर्चिंदै २ विकेट लिए । उनले ११ डट बल पनि फालेका थिए । उनले मोन्ट्रियालमा लसिथ मलिङा, पिटर सिडल र सुनिल नारानजस्ता अनुभवी बलरलाई बलिङ अट्याकमा साथ दिइरहेका छन् ।
आफूले खेलेका अघिल्ला ३ खेलमा पनि सन्दीपले १-१ विकेट लिएका थिए । १ खेल कम खेलेर पनि प्रतियोगितामा सर्वाधिक विकेट लिने सुचीमा उनी १० औं स्थानमा रहेका छन् ।