असोज ४,काठमाडौँ । नेपालले फिफा वरीयतामा एक स्थान सुधार गरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १सय ६० औं स्थानमा आएको छ । यसअघि नेपाल १६१औं स्थानमा थियो ।
गत महिना ९९९ अंक रहेको नेपालले हालै साफ च्याम्पियन्ससिप खेलेको र सेमिफाइनल सम्म पुगेकाले १००४ अंक पुर्याउँदै १६० औं स्थानमा आएको हो ।
साफ खेलेका टिममध्ये भारत शीर्ष स्थानमा रहेको छ । भारत फिफा वरीयतामा ९७ औं स्थानमा रहँदा उपाधि विजेता माल्दिभ्स १५१औं र नेपाल १६० औं स्थानमा रहेको छ । यसैगरी भुटान १८८औं स्थानमा रहँदा श्रीलंका १९९औं र पाकिस्तान २००औं स्थानमा छ ।
नयाँ वरीयतामा विश्वकप विजेता फ्रान्स र तेस्रो भएको बेल्जियम संयुक्त रुपमा शीर्ष स्थानमा छन् । दुवैकोे १७२९ अंक रहेको छ । यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा विश्वकपको उप विजेता बनेको क्रोएसिया चौथो स्थानमा रहेको छ ।
त्यसैगरी उरुग्वे, इंग्ल्याण्ड, पोर्चुगल र स्वीट्जरल्याण्ड क्रमशः पाँचौ देखि आठौं स्थानमा रहेका छन् । स्पेन नवौँ स्थानमा रहँदा डेनमार्क दशौं र अर्जेन्टिना ११ औं स्थानमा छ । चिली र जर्मनी संयुक्त रुपमा १२औं स्थानमा छ ।