असोज १३, काठमाडौं । पोर्चुगल तथा युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो खेलका कारण चर्चामा रहने गरेका छन् । तर, उनको चर्चा खेलमा मात्र सिमित छैन । समय समयमा उनीसँग सम्बन्धित खेलबाहेकका सामाचार सार्वजनिक हुने गरेका छन् । एक ३४ वर्षे महिलाले रोनाल्डोले आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् ।
जर्मन सञ्चारमाध्यम डेर स्पिगेललाई क्याथरिन म्योग्राले रोनाल्डोले उनीमाथि बल प्रयोगका साथ करणी गरेको आरोप लगाएकी छिन् । म्योग्राका अनुसार सन् २००९ मा रोनाल्डोले लास भेगासको एक होटलमा आफुलाई बलात्कार गरेको बताइन् ।
रोनाल्डोले ३ लाख ७५ हजार अमेरिकी डलर दिँदै घुँडा टेकेर मुद्दा नहाल्न सम्झौता गरेको म्योग्राले बताएकी छिन् ।’रोनाल्डोले आफु ९९ प्रतिशत राम्रो मान्छे रहेको तर १ प्रतिशतले जितेकोले बताइन्,’ उनले भनिन्, ‘मलाई ३ लाख ७५ हजार अमेरिकी डलर अफर गर्दै मुद्दा नहाल्न विन्ती गरेका थिए ।’
यसअघि ‘फुटबल लिक्स’ नामक वेबसाइटमा यो खबर आएपछि रोनाल्डोले जबर्जस्ती नभएर आपसी सहमतिमा सम्बन्ध रहेको बताएका थिए । रोनाल्डोका वकिल सेच्र्ज बग्र्मानले डेर स्पिगेलको उक्त रिपोर्ट अवैध रहेको र उक्त मिडियाविरुद्ध मानहानीको मुद्दा दर्ता गर्ने विज्ञप्तीमार्फत जनाएका छन् ।