असोज २७,काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपालको लक्ष्य टी–२० विश्वकप भएको बताएका छन् । त्यसको पहिलो खुड्किलोका रुपमा रहेको एसिया छनोट ‘बी’मा च्याम्पियन भएको नेपाली टोली शनिबार स्वदेश फर्किएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान पारस खड्काले भने, ‘हाम्रो पहिलो चाहना टी–२० विश्वकप खेल्नु हो । पहिलो खुड्किलो पार गरेका छौं । आश छ, बाँकी दुई खुड्किलो पनि पार गर्नेछौं ।’
अब नेपालले एसिया फाइनल खेल्नेछ, जहाँ एसिया छनोट ‘ए’बाट आएका यूएई, कतार र कुवेत तथा बीबाट आएका नेपाल, सिंगापुर र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । एसिया छनोटका शीर्ष दुई टोलीले टी-२० विश्वकप छनोट खेल्नेछन् ।
विश्वकप छनोटमा अघिल्लो पटक टी–२० विश्वकप खेलेका ६ र क्षेत्रीय छनोटबाट आएका ८ गरी १४ देशबीच प्रतिस्पर्धा हुनेछ र शीर्ष ६ टिमले टी–२० विश्वकपमा स्थान बनाउनेछन् । टी–२० विश्वकप २०२० मा हुनेछ ।
नेपालले मलेसियामा अपेक्षाअनुसार खेलेको र राम्रो टिम गेम प्रदर्शन गरेको भन्दै कप्तान पारस खड्काले सन्तुष्टि व्यक्त गरे । उनले भने, भुटान भन्नासाथ ३५० हान्ने कुरा आउँदैन । उनीहरुले पनि एउटा स्तर बनाएर आएका हुन्छन् ।’
तर, अबको चरण सजिलो नहुने उनले बताए । अब नेपालले राम्रो तयारी गर्नु पर्ने र त्यसका लागि नेपालको प्रशिक्षण शैलीमै परिर्वतन आवश्यक रहेको उनले बताए ।
‘नेपालको प्रदर्शन एक ठाउँमा अड्एिको छ । शायद हामीले ट्रेनिङ मेथड र कोचिङ स्टाफमा स्तारोन्नति गर्नुपर्छ, ब्याटिङ, बलिङ र फिल्डिङ कन्सलट्यान्टलाई चाँडो ल्याएर’ कप्तान पारसले अघि भने, ‘यो नगर्ने हो भने गाह्रो छ ।’
नेपालले अहिले प्रतियोगिताको दुई साता अघि कहिले ब्याटिङ त कहिले बलिङ कोच ल्याउने गरेको छ । तर, समयका कारण उनीहरुको प्रभावकारी देखिएका छैनन् । कम्तिमा २/३ महिनाका लागि कन्सलट्यान्ट ल्याउनु पर्ने नेपाली टोलीको जोड छ ।