पीपीएल: पोखराले काठमाडौंलार्इ हराएसँगै बुटवल र विराटनगर बाहिरिए

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ कार्तिक १७, शनिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कात्तिक १७, पोखरा । बुटवल र विराटनगर पोखरा प्रिमियर लिगबाट बाहिरीएका छन् । आज भएको खेलमा पोखरा पल्टनले काठमाडौ रोयल्सलाई ४ विकेटले हराएसँगै बुटवल र विराटनगर लिग चरणबाट नै बाहिरिएका हुन् ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले १९ ओभर एक बलमा एक सय तीन रनमा अलआउट भयो । निकै खराब सुरुवात गरेको काठमाडौंले १३ रन बनाउँदा दुई विकेट गुमायो ।

उसका ओपनर जयकिशन कोल्सावाला र गौरव तमोरले खाता खोल्न सकेनन् । त्यसपछि पनि उसले ४३ रन बनाउँदा थप दुई विकेट खेर फाल्यो ।

अमित श्रेष्ठ २१ रनमा आउट भए भने पवन सर्राफ १२ रनमा पेभेलियन फर्किए । काठमाडौंका कुनैपनि खेलाडीबीच राम्रो साझेदारी हुन सकेन । उसका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधकि ३१ रन बनाए ।

अघिल्लो खेलमा अर्धसतक प्रहार गरेका नरेश बुढाऐर ६ रनमा, आदिल खान सात तथा अमरसिंह रौटेला एक रनमा आउट भए । ९२ रन बनाउँदा उसले नौ विकेट गुमाइसकेको थियो ।

बसन्त रेग्मी १९ रनमा अविजीत रहे । बलिङतर्फ ललित राजवंशीले तीन तथा मोहम्मद नाभिद र रासिद खानले दुई दुई विकेट लिए ।

जवाफमा पोखरा पल्टनले १५ ओभर ५ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । पोखराले पनि सुरुवात राम्रो गर्न सकेकाे भने हाेइन ।

१६ रनमा पहिलो विकेट गुमाएको पाेखराले ४८ रन बनाउँदा तीन विकेट खेर फालेको थियो । उसका लागि कुशल भुर्तेलले १४, आशिफ शेखले १६ रन बनाए भने विनोद भण्डारीले शून्य रनमा आउट भए ।

त्यसपछि विदेशी खेलाडी रवीइन्दर सिंंह र कप्तान शरद भेषावकरलाई लगातार दुई बलमा अमरसिंंह रौटेलाले आउट गरेपछि पोखराले ६९ रनमा ५ विकेट गुमायो ।

रवीले २२ रन बनाए भने मोहम्मद नाभिदले ३६ रन बनाए । बलिङतर्फ अमरसिंह रौटेलाले तीन विकेट लिएका छन् । जितसँगै पोखरा लिगको शिर्ष स्थानमा पुगेको छ ।

आजै हुने अर्को खेलमा चितवनले विरानगरलाइ राम्रो रनरेटमा हराएमा सोझै फाइनलमा पुग्नेछ । यदि पराजित भएमा उ पनि प्रतियोगिताबाट बाहिरिने छ ।

चितवन फाइनलमा पुगेमा काठमाडौं, धनगढी र पोखराबीच रेन रेटका आधारमा इलिमिनेटर खेल्ने टिमको टुंगो लाग्नेछ ।

यदि चितवन पराजित भएमा पोखरा फाइनलमा पुग्नेछ भने धनगढी र काठमाडौंबीच इलिमिनेटर खेल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस