आठौं राष्ट्रिय खेलकुद सर्‍यो, १३औं साग पनि प्रभावित हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ कार्तिक २१, बुधबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कात्तिक २१, काठमाडौं । पूर्वाधार अभावका कारण आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता दुई महिनापछि सारिएको छ ।

आगामी मंसिर महिनामा प्रदेश नम्बर–५ का विभिन्न स्थानमा हुने तय भएको सो प्रतियोगिता आगामी माघ २५ देखि फागुन १ गतेसम्म गर्नेगरी तय भएको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले राससलाई जानकारी दिए ।

अघिल्लो महिना नुवाकोटको ककनीमा बसेको राष्ट्रिय खेलकुद परिषद सन्चालक समितिको (बोर्ड) बैठकले मंसिर ८ गतेदेखि नेपालगन्ज रंगशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

‘समयमै आवश्यक सबै पूर्वाधार निर्माण हुन सकेन । पूर्वाधार नबनाइ प्रतियोगिता गर्दा समस्या हुन्छ । दुई महिना पर सार्दैमा केही फरक पर्दैन’–सदस्यसचिव विष्टले भने ।

राष्ट्रिय खेलकुदका लागि सबै तयारी युद्धस्तरमा भइरहेको बताउँदै उनले प्रतियोगिता नयाँ तोकिएको मितिमै हुने जानकारी दिए ।

सदस्यसचिव विष्टले भने–‘मिति सारेको निर्णय सार्वजनिक गरे ठेकेदारले काम ढिलो गर्लान् भनेर सार्वजनिक नगरेका हौं । तर, राष्ट्रिय खेलकुदचाहिँ कन्फर्म तोकिएकै मितिमा हुन्छ । सरकारले यसका लागि आवश्यक बजेट दिने ग्यारेन्टी पनि गरिसकेको छ ।’

उनले आगामी फागुन २५ देखि चैत ५ गतेसम्म नेपालमा हुने तय भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पनि ६ महिना सार्ने प्रस्ताव गरेको जानकारी दिए ।

उनले ‘आगामी सेप्टेम्बर महिनामा १३औं साग आयोजना गर्छौैं’–भने ।

साग सार्ने प्रस्ताव परिषदले एनओसी हुँदै दक्षिण एसियाली ओलम्पिक काउन्सिललाई पठाउनेछ । त्यसपछि काउन्सिलको निर्णयअनुसारमात्र नयाँ मिति तय हुनेछ ।

‘ओलम्पिक कमिटीसँग समन्वय गरेर हामीले साग पछि सार्ने प्रस्ताव गरेका छौं । यसबारे छिट्टै निर्णय हुन्छ’–उनले भने ।

भौतिक पूर्वाधार निर्माण तथा टोली तयारीमा पर्याप्त काम हुन नसकेको भन्दै दुवै ठूला खेल सार्ने निर्णय गरिएको हो ।

युवा तथा खेलकुदमन्त्री परिषदको अध्यक्ष रहने तर कार्यकारी अधिकार भने सदस्यसचिवमा रहने व्यवस्था छ ।

सदस्यसचिव विष्टकाअनुसार आठौं राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार निर्माणलाई रु ३३ करोड बजेट निकासा भइसकेको छ ।

यसैगरी, आयोजनाका लागि पनि रु ३५ करोड आवश्यक पर्नेमा १७ करोड आइसकेको र बाँकी रकम दिन अर्थ मन्त्रालय तयार रहेको पनि उनले बताए ।

दुई वर्षअघि सातौं राष्ट्रिय खेलकुद गर्न अर्थ मन्त्रालयले रु ३३ करोड बजेट उपलब्ध गराएको थियो ।

युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता अणप्रसाद न्यौपानेले पूर्वाधार निर्माणकै कारण प्रतियोगिता दुई महिना पर सारिएको स्पस्ट पारे ।

उनले भने–‘प्रतियोगिता उद्घाटन हुने नेपालगन्ज रंगशाला निर्माण सम्पन्न गर्न केही समय लाग्ने देखियो । अन्य पूर्वाधारको काम पनि पूरा गर्न केही समय लाग्ने भएकाले प्रतियोगिता सारिएको हो ।’

पूर्वाधारको सम्पूर्ण निर्माणकार्य माघ दोस्रो सातासम्म सक्नेगरी ठेकेदारलाई भनिसकिएको र आवश्यक बजेट पनि सरकारका तर्फबाट उपलब्ध गराइसकिएको उनको भनाइ छ ।

संघीय संरचनाअनुसार प्रतियोगिता

अघिल्लो संस्करणसम्म विकास क्षेत्रका पाँच तथा तीन विभागीय टोलीले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने चलन थियो ।

तर, देश संघीय संरचनामा गइसकेकाले र पहिलोपटक गैरआवासीय नेपाली संघ (एनआरएनए)को एउटा टोली पनि समावेश गर्ने भएपछि राष्ट्रिय खेलकुद पनि त्यहीअनुसार गर्दा टोली संख्या बढेर ११ पुगेको छ ।

आर्थिक र अन्य कारणले पलायन भएका प्रतिभालाई राष्ट्रिय खेलकुद हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा निश्चित बनाउन गैरआवासीय टोलीको सहभागिता खोजिएको राखेपको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस