पौष १२, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बिहीबार लिग लिडर मनाङ मर्स्याङ्दी र दोस्रो स्थानको संकटा क्लब भिड्दैछन्। खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो साढे २ बजे हुनेछ। आजको खेल दुवै टिमका लागि अत्यन्तै महत्त्वपूर्ण छ।
संकटाविरुद्ध जित हात पारे मनाङले अरु दुई खेल बाँकी छँदै लिगको उपाधि हात पार्नेछ। संकटाले मनाङलाई पराजित गरे वा बराबरीमा मात्रै रोके पनि लिग रोमाञ्चक बन्ने छ र उपाधि जित्नका लागि मनाङले अर्को खेल कुर्नुपर्नेछ।
१० खेलमा शतप्रतिशत नतिजा निकाल्दै शीर्ष स्थानमा हरेको मनाङको ३० अंक छ। समान १० खेल खेलेको संकटा २५ अंकसहित दोस्रो स्थानमा छ। त्यस्तै बिहीबार नै हुने अर्को खेलमा पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ र च्यासल युथ क्लब भिड्दैछन्।
१६ अंकसहित तालिकाको छैटौँ स्थानमा रहेको एपीएफ जित हात पारे चौथो स्थानमा पुग्नेछ। च्यासल युथ क्लब भने १० खेलबाट १४ अंक जोड्दै तालिकाको आठौँ स्थानमा रहेको छ।