रुस्लान थ्री स्टारलाई पहिलो पटक सिमरा गोल्ड कप

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ १३, आईतबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १३, काठमाडौं । रुस्लान थ्री स्टार क्लब पहिलो पटक रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा हराउँदै थ्री स्टार पहिलो पटक सिमरा गोल्डकपको च्याम्पियन बनेको हो ।

१० औं संस्करणमा आइपुग्दा पहिलो पटक थ्री स्टार विजेता बन्न सफल भएको हो । सिमरा रंगशालामा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा पनि बराबरीपछि सडन डेथमा ७–६ ले थ्री स्टार विजयी भएको थियो ।

पेनाल्टी सुटआउटमा थ्री स्टारका गोलकिपर एलन न्यौपानेको प्रदर्शन उत्कृष्ट रह्यो । उनकै खेलको म्यान अफ दी म्याच घोषित भए र १० हजार रुपैयाँ प्राप्त गरे । ६–६ को अवस्थाबाट थ्री स्टारका रञ्जन विष्टको पेनाल्टी निर्णायक बनेको थियो ।

त्यसअघि आर्मीका सुमन अर्यालको प्रहारलाई थ्री स्टारका गोलकिपर एलन न्यौपानेले जोगाएका थिए । एलेनले सुमनसहित ३ खेलाडीको पेनाल्टी रोके । सुरुको नियमित ५ पेनाल्टीमा ४–४ को बराबरी भएको थियो । जसमा आर्मीका दीप लामा, विवेक बस्नेत, भरत खवास र सन्तोष तामाङले गोल गरे । गोलकिपर विकेश कुथुको प्रहारलाई एलेनले रोके ।

त्यस्तै थ्री स्टारका ५ पेनाल्टीमा रुपेश केसी, रञ्जित धिमाल, विक्रम लामा र अनन्त तामाङले गोल गरे । सुनिल विकको पेनाल्टी विकेशले रोके । सडन डेथमा आर्मीका विकास तामाङ र विकास खवास गोल गर्न सफल भए ।

एलनले सुमन आर्याल अघि दीपक गुरुङको पेनाल्टी रोके । थ्री स्टारका दीनेश राजवंशीको प्रहारलाई आर्मीका गोलकिपर विकेशले रोके । तर रञ्जन अघि सुनिल राई र फोफाना फोडे गोल गर्न सफल भए ।

आर्मी तेस्रो पटक सिमरा गोल्ड कप जित्नबाट चुकेको छ । गत वर्ष थ्री स्टारलाई हराएर आर्मीले उपाधि जितेको थियो । अब यी दुई टोलीबीच सोमबार मदन भण्डारी इटहरी गोल्डकपको क्वार्टरफाइनलमा प्रतिस्पर्धा हुनेछ ।

गत साता थ्री स्टार सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । सिमरा गोल्डकपको विजेता थ्री स्टारले उपाधिसहित ६ लाख र आर्मीले ३ लाख रुपैयाँ प्राप्त गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस