फागुन ९,काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन नेपाल आइपुगेका छन् ।
एन्फासँगको सम्झौताभन्दा २ महिना पहिले नै नेपाल आइपुगेका उनले विमानस्थलमा नेपाली फुटबल टिम राम्रो लयमा अगाडि बढेको र आफूसँग भएको अनुभवलाइ खेलाडीसँग साट्ने र एउटा उत्कृष्ट टिम तयार पार्ने बताए ।
एन्फाले गएको माघ ३ गते राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । दुई वर्षको सम्झौता अनुसार नेपाल आएका उनले नेपाली फुटबलका बारेमा केही जानकारी रहेकाले र आफूले पहिले अनुभव गरेको फुटबल र अहिलेको फुटबलमा केही परिवर्तन भएको बताए ।
एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी अघिल्लो महिना दिएको थियो । सम्झौताअनुसार उनले २०१९ मार्च १ बाट २०२१ फेब्रुअरी २८ सम्म नेपाली टोलीको नेतृत्व गर्नेछन् ।
योहानले नेपाली खेलाडीसँग घुलमिल गर्नुका साथै उनीहरू मानसिकता बुझ्नेछन् । यसका साथै २३ वर्षमुनिको राष्ट्रिय टिमको प्रशिक्षणमा पनि सहयोग गर्नेछन् । त्यसपछि उनी राष्ट्रिय टिमको विश्वकप छनोटमा क्याम्पमा बस्नेछन् ।
यस अघिका जापानी प्रशिक्षक ग्यातुको कोजी प्रवेशाज्ञाका कारण नेपाल आउन नपाउने भएपछि एन्फाले नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाएको थियो ।
पर्यटक भिसामा नेपालमा काम गरेका कोजीको श्रम स्वीकृति प्रक्रिया एन्फाले अघि नबढाउँदा उनले पर्यटक भिसामा नै नेपालमा काम गर्दै आएका थिए । गत भदौदेखि उनी नेपाल आउन पाएका थिएनन् । उनको सम्झौता भने गएको डिसेम्बरसम्मका लागि थियो ।
योहानले २०७० सालमा ‘ए’ डिभिजन क्लब मछिन्द्रको मुख्य प्रशिक्षकको रूपमा काम गरेका थिए । योहानको नेतृत्वमा मछिन्द्रले उक्त वर्षको ‘ए’ डिभिजन लिग दोस्रो स्थानमा रहेर समाप्त गरेको थियो । योहानले स्विडेनको तेस्रो डिभिजन क्लबबाट व्यावसायिक प्रशिक्षण सुरु गरेका थिए ।