फागुन २४, काठमाडौँ । यूईएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले प्रि.क्वाटरफाइनलको पहिलो लेगमा युक्रेनी क्लब डायनामो किएभमाथि सहज जित निकालेको छ ।
युरोपा लिग अन्तरगतको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा चेल्सीले ३–० को सहज जित निकालेको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेज, विलियन र क्यालम हड्सन ओडोईले गोल गरे ।
एकपक्षीय बनेको खेलमा चेल्सीले १७औं मिनेटमा पेड्रो रोड्रिग्वेजको गोलबाट खेलमा अग्रता बनाएको थियो । ओलिभर जिरुडसँगको वान टु वान पासमा पेड्रोले बक्सभित्रबाट सहजै गोल गरेका थिए ।
पहिलो हाफमा १–० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा २ गोल गर्न सफल भयो । ६५औं मिनेटमा विलियनले फ्रिकिकमा दर्शनीय गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । रुवेन लफटस चिकलाई लडाएपछि प्राप्त फ्रिकिकमा विलियनको प्रहारलाई डायानामोका गोलरक्षक डेनी बोयोकोले रोक्ने कुनै मौका पाएनन् ।
९०औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका हड्सन ओडोईले गोल गर्दै चेल्सीलाई ३–० को सहज जित दिलाए । कलुमले लफटस चिकोको पासमा गोल गरेका थिए । कलुम ७८औं मिनेटमा विलियनको मैदानमा छिरेको थिए ।
दोस्रो लेग डायनामोको मैदानमा मार्च १४ मा हुनेछ । एजेन्सी