फागुन २९, काठमाडौँ । युभेन्टसले च्याम्पियन्स लिग फुटबलको उपाधि जित्नका लागि क्रिष्टियानो रोनाल्डोलाई अनुबन्धित गरेको हो र रोनाल्डो त्यो सपना पूरा गर्ने जस्तो देखिएको छ ।
रोनाल्डोले आफ्नो मास्टरक्लास प्रदर्शन युरोपियन मैदानमा मंगलबार राति गरे । पहिलो लेगमा २–० ले पराजित भएर दबाबमा रहेको टिमलाई उत्कृष्ट पुनगरागमन गराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनलको बाटो देखाउने क्रममा रोनाल्डोले घरेलु मैदानमा भएको खेलमा ह्याट्रिक गरे ।
स्पेनिस क्लब एथ्लेटिको मड्रिडमाथि ३–० को जित निकाल्दै समग्रमा ३–२ को जितसहित युभेन्टसले अन्तिम ८ मा स्थान बनाएको हो । पहिलो लेगमा २–० ले पराजित भएपछि रोनाल्डो च्याम्पियन्स लिगमा आफ्नो साख जोगाउन नसक्ने हुन् कि भन्ने चिन्ता थियो ।
उनी सन् २०१० यताका च्याम्पियन्स लिगमा कम्तिमा सेमिफाइनलसम्म पुगेका छन् । पहिलो लेगको नतिजाले रोनाल्डो यो सिजन अन्तिम १६ बाटै बाहिरिने हुन् कि भन्ने चिन्ता थियो ।
तर उनले यस्तो हुन दिएनन् । उनले २७, ४९ र ८६ औँ मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरे र च्याम्पियन्स लिगमा रोनाल्डोको ८ औँ ह्याट्रिकले युभेन्टस अन्तिम ८ मा पुग्यो ।
रोनाल्डोले च्याम्पियन्स लिगमा गोलको संख्या १२४ बनाएका छन्, यो दोस्रो स्थानमा रहेका लियोनल मेस्सीको भन्दा १८ गोल बढी हो । रोनाल्डो लगातार चौथो सिजन उपाधि जित्ने सम्भावनामा छन् ।
रोनाल्डोलाई युभेन्टसले यहि सिजन ९९ मिलियन पाउण्डमा अनुबन्धित गरेको हो । रोनाल्डोले खेलपछि भनेका छन्, ‘यस कारण हो युभेन्टसले मलाई ल्याएको यहाँ, उनीहरुले यसअघि नगरेको कुरा गर्नका लागि ।’
उनले अघि भने, ‘यो रात जहिले पनि विशेष हुनेछ, गोलका लागि मात्रै नभएर समग्र टिमकै लागि । च्याम्पियन्स लिग जित्नका लागि चाहिने मेन्टालिटी यहि हो । हामीले उत्कृष्ट रात इन्जोए गरेका छौँ । एथ्लेटिको कठिन टिम हो तर हामी पनि बलियो छौँ । अब के हुनेछ हेर्न बाँकी छ ।’