साफ महिला च्याम्पियनसिप : नेपाल एक खेलअघि नै अन्तिम चारमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन ३०, बिहिबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुन ३०,विराटनगर । आयोजक नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको शहीद रंगशालामा बिहीबार भएको खेलमा भुटानलाई बंगलादेशले २–० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै अन्तिम चारमा पुगेको हो । नेपाल रहेको समूह ए मा ब‌ंगलादेश र भुटान रहेका छन् । भुटान दुबै खेलमा पराजित भएर बाहिरिएको छ भने नेपाल र ब‌ंगलादेश सेमिफाइनलमा पुगेका छन् । यसअघि नेपालले भुटानलाई ३(० ले पराजित गरिसकेको छ ।

बिहीबार भएको खेलमा बंगालदेशलाई भुटानले पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको थियो । तर भुटानले गोलको अवसर भने सिर्जना गर्न सकेन ।

१२औं मिनेटमा जहान सिरात सोप्नाले मध्यभागबाट पाएको लामो पासलाई पेनाल्टी एरियामा वान भर्सेस वानमा गोल गर्न चुकिन् ।

आक्रामक खेल खेलेको बंगलादेशका लागि भुटानी गोलकिपर संगीता मोंगर बाधक बनेकी थिइन् । उनले बंगालदेशकी कप्तान सविना खातुनले प्रहार गरेको बललाई उत्कृष्ट बचाउ गरिन् ।

दोस्रो हाफमा भने सुरुमै भुटानले गोल खायो ।

खेलको ४७ औं मिनेटमा मिश्रात जहान मौसमीले हेडर गोल गर्दै बंगालदेशलाई अग्रता दिलाइन् । उनले मोनिका चक्माको कर्नर प्रहार बललाई हेडर गोल गरेकी थिइन् । यही गोल बंगलादेशका लागि टर्निङ पोइन्ट बन्यो । त्यसपछि ८५ औं मिनेटमा बंगालदेशकी कप्तान साविनाले गोल गर्दै २–० गोलको जीत दिलाइन् ।

समूह ‘ए’ को अन्तिम खेलमा नेपाल र बंगालदेशले १६ मार्चमा प्रतिस्पर्धा गर्दैछ । यो खेलले समूहको विजेता र उपविजेताको टुंगो लाग्ने छ ।.

ताजा अपडेट

खोजी गर्नुहोस