चैत्र २,काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशमाथि सहज जित हात पारेको छ र समूह एको विजेता बनेको छ ।
पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले ३–० को सहज जित निकालेको छ ।
नेपालले खेलको छैटौं मिनेटमा उपहार गोलबाट अग्रता लिएको थियो । अनिता बस्नेतले प्रहार गरेको बल क्लियर गर्न खोज्दा बंगलादेशकी मसुरा पर्भिनले आफ्नै पोष्टमा गोल गरिन् ।
यसअघि सावित्रा भण्डारी वान भर्सेस् वानको स्थितिमा गोल गर्न चुकेकी थिइनन् । दर्शकको साथ पाएको नेपालले १०औं मिनेटमा अर्को गोल गर्ने अवसर खेल फाल्यो । कप्तान निरु थापा वान भर्सेस् वानमा गोल गर्न चुकिन ।
तर, २३औं मिनेटमा सावित्राले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । उनले डिफेन्डरलाई छक्याएर किपरलाई पनि बिट गर्दै गोल गरेकी थिइन् ।
पाँच मिनेटपछि साबित्राकै पासमा मञ्जलीकुमारी योञ्जनले गोल गरिन् । योसँगै नेपाल ३–० गोलको अग्रतामा रह्यो ।
नेपालले दोस्रो हाफमा भने पहिलो हाफको खेल दोहोर्याउन सकेन । पहिलो हफमा मिडफिल्ड निकै उत्कृष्ट देखिएको थियो तर, दोस्रो हाफमा सुस्तायो भने फरवार्ड लाइनका खेलाडी पनि चल्न सकेनन् ।
खेलको ५८औं मिनेटमा सावित्राले प्रहार गरेको बल बंगलादेशकी मसुरा पर्भिनले बचाइन् । किपर रुप्ना चक्मा विट भइसकेको अवस्थाबाट पर्भिनले गोल लाइनबाट बल क्लियर गरेकी थिइन् ।
६४औं मिनेटमा पर्भिन नै फेरि बाधक बनिन् । सावित्राले प्रहार गरेको बल डिबक्सभित्रबाट पर्भिनले नै क्लियर गरेकी थिइन् ।
बंगलादेशले दोस्रो हाफमा राम्रो भुम बनाएको थियो तर, प्रहार बारमा लागेर फर्किन पुग्यो ।