माईभ्याली गोल्डकपको उपाधी दाफिन्सको कब्जामा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र ५, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत ५, इलाम : हिमालयन शेर्पालाई हराउँदै पाहुना टोली क्यामरुनको दाफिन्स फेमिली क्लबले इलाममा जारी माईभ्याली गोल्डकपको उपाधी जितेको छ।

निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा दाफिन्सले हिमालनको चुनौती २–० गोल अन्तरले पन्छाएको हो। खेलको सुरुवातबाटै दबाब कायम राखेको दाफिन्सले खेलको ८ औ मिनेटमा अग्रता कायम गरेको थियो।

हिमालयनका निरज बस्नेतलाई छक्याउँदै यान्निक ओवानाले गोल गरेका थिए। खेलमा पछि परेको अवस्था १९ औँ मिनेटमा शेर्पाले दोश्रो गोल खान पुग्यो। मेजुकेको कर्नर प्रहारलाई पेटाङ्गाले हेडर गोल गदै अग्रता दोब्बर बनाए। उपाधीसँगै दाफिन्सले नगद ७ लाख प्राप्त गरेको छ भने उपविजेता शेर्पाले ४ लाख रुपैयाँ प्राप्त गरेको छ।

खेलको ६५ औ मिनेटमा डेडी वाम्बा दोहोरो पहेलो कार्ड पाउँदै मैदानमा बाहिरिएपछि शेर्पा १० खेलाडीमा सीमित भएको थियो। खेलमा पाएका अवसरहरू सदुपयोग हुन नसक्दा सिजनमा दोश्रो पटक शेर्पा उपविजेता भएको थियो। यसअघि दोश्रो विशाल मेमोरियल गोल्डकपमा त्रिभुवन आर्मीसँग पराजित बन्दै शेर्पा उपविजेता भएको थियो। माईभ्यालीसँगै दाफिन्सले सिजनमा ४ वटा उपाधी जितेको छ।

दाफिन्सले पोखरा कप, बूढासुब्ब गोल्डकप र तिलोत्तमा गोल्डकप जितेको थियो। खेलमा विद्यागततर्फ दुवैले बराबर पुरस्कार पाएको छ। खेलको म्यान अफ दि म्याच उपविजेता टिमका बिसन गुरुङ घोषित भए। उनले नगद १० हजार प्राप्त गरे। त्यसैगरी उत्कृष्ट गोलरक्षक दाफिन्सका प्रिसो जाङ्गा, उत्कृष्ट डिफेन्डर दाफिन्सका ओको बोटा, मिडफिल्डर शेर्पाका त्रिदेव गुरुङ, स्ट्राइकर दाफिन्सका पेटाङ्गा र प्रशिक्षक वाम्बा घोषित हुँदै जनही २५ हजार प्राप्त गरे।

प्रतियोगितामा ह्रयाट्रिकसहित ४ गोल गरेका शेर्पाका स्ट्राइकर सुनिल खड्का सर्वाधिक गोलकर्ता चुनिदै नगद ३५ हजार प्राप्त गरे। शेर्पाका गोलरक्षक किशोर गिरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिदै अपाची १६० सिसीको बाइक पाएका थिए। विजेता टिमलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले पुरस्कार वितरण गरेका थिए ।

समापन समारोहको अवसरमा फुटबल क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै पूर्व राष्ट्रिय खेलाडी मंगेश बस्नेतलाई प्रमुख अतिथी सुनार र विशेष अतिथी एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस