चैत २७, काठमाडौँ । प्रदेश पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका खेलहरु आज (बुधबार) सूरु हुदैछ । औपचारिक उद्घाटन बैशाख ५ मा भनिएपनि प्रतियोगिताका खेलहरु आज सुरु हुन लागेको हो । पहिलो दिन आज ५ खेलका प्रतिस्पर्धा सुरु हुनेछ ।
दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद उच्च माविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछ ।
यस्तै महिला हक्की नेपालगन्जको खजुरास्थित शुक्र माविमा चैत ३० गतेदेखि मात्र सुरु हुनेछ ।
आठौंको उद्घाटन अघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ । उद्घाटनअघि सकिने खेलमा बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराते, साइक्लिङ, फेन्सिङ र गल्फ रहेको छ ।
आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् । बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हुँदैछ ।
आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछ ।