बैशाख १,काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति भएको खेलमा वेस्टह्याम युनाइटेडमाथि २–१ गोल अन्तरको जित निकाल्दै म्यानचेस्टर युनाइटेड पाँचौ स्थानमा उक्लिएको छ ।
योसँगै म्यानचेस्टर युनाइटेड चौथो स्थानको चेल्सीसँगको अंक दूरी पनि दुईमा झारेको छ । चेल्सीको ६६ अंक छ भने म्यानचेस्टर युनाइटडको ६४ अंक रहेको छ । म्यानचेस्टर युनाइटेडको जितमा पोउल पोग्वा नायक रहे । दुवै गोल उनले गरेका हुन् ।
उनले दुवै गोल पेनाल्टीमार्फत गरेका हुन् । मार्कस रोजोलाई फल गरेपछि पाएको पेनाल्टीलाई पोग्वाले गोल गर्दै १९ औं मिनेटमा अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा फिलिप एन्डरसनले गोल गर्दै वेस्टह्यामलाई खेलमा फर्काएका थिए ।
तर ७४ औं मिनेटमा फेरि म्यान्यूले पेनाल्टी पाएको थियो । पेनाल्टीमा पोग्बाले नै गोल गर्दै स्पष्ट तीन अंक दिलाउन सफल भए ।