बैशाख ८, काठमाडौँ । जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले बोरुसिया डर्टमन्डसँग चार अंकको स्पष्ट अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा झरेको वेरदेर ब्रेमेनलाई एक शून्यले हराउँदै बायर्नले पकड बनाएको हो ।
रोमाञ्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ५८ औं मिनेटमा डिफेन्डर भिल्जकोभिच दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि वेरदेर १० खेलाडीमा झर्यो । जसको फाइदा लिदै बायर्नले ७५ औं मिनेटमा अग्रता बनायो ।
उसका लागि डिफेन्डर निकलस सुलीले गोल गर्न सफल भए । उनको यो सिजनको दोस्रो गोल हो ।त्यसपछि वेरदेर खेलमा फर्कन सकेन र पराजित भयो ।
जितपछि बायर्नले ३० खेलबाट ७० अंक बनाएको छ । दोस्रो स्थानको बोरुसिया डर्टमन्डको २९ खेलबाट ६६ अंक छ ।