बैशाख २४, काठमाडौँ । उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि कठिन जित निकालेसँगै इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड झनै रोमाञ्चक बनेको छ ।
सोमबार राति भएको खेलमा सिटीले लेस्टरमाथि १–० को कठिन जित निकालेसँगै प्रिमियर लिगको उपाधि होड झनै रोमाञ्चक बनेको हो ।
प्रिमियर लिगमा एक राउन्डको खेल बाँकी रहँदा अब उपाधिको छिनोफानो अन्तिम खेलबाटै हुने भएको छ । उपाधि होडमा सिटीसँगै लिभरपुल रहेको छ ।
सिटी ३७ खेलबाट ९५ अंक जोडेर शीर्षस्थानमा उक्लदा समान खेलबाट लिभरपुल ९४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अन्तिम खेलमा ब्राइटनलाई पराजित गरे सिटी च्याम्पियन बन्नेछ । लिभरपुललाई च्याम्पियन बन्न सिटीले अंक गुमाउनुका साथै आफुले पनि जित निकाल्नुपर्ने हुन्छ ।
प्रिमियर लिगको अन्तिम राउन्डमा सिटीले मे १२ मा ब्राइटनसँग तथा लिभरपुलले सोही दिन नै वल्भ्ससँग खेल्दैछ ।
घरेलु मैदान इतिहाद स्टेडियममा सिटीलाई महत्वपुर्ण ३ अंक दिलाउन कप्तान भिसेन्ट कोम्पनीले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो ।
दवावमा खेलेको लेस्टरले सिटीलाई पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा रोक्न सकेन । खेलको ७०औं मिनेटमा कोम्पनीले एमेरिक लापोर्टाेको पासमा गोल गरेका थिए । एजेन्सी