जेठ २९, काठमाडौँ । अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी सर्वाधिक कमाई गर्ने खेलाडी बनेका छन् ।
अमेरिकन बिजनेस म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको विश्वको सर्वाधिक कमाउने खेलाडीको सूचीमा बार्सिलोनाका स्टार मेस्सी शीर्ष स्थानमा रहेका छन् ।
मेस्सीले युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै सर्वाधिक कमाई गर्ने खेलाडी बनेका हुन् । फोर्ब्सले सार्वजनिक गरेको तथ्यांकअनुसार मेस्सीको बार्षिक कमाई १२७ मिलियन अमेरिकी डलर रहेको छ ।
दोस्रो स्थानको रोनाल्डोको १०९ मिलियन अमेरिकी डलर रहेको छ । यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार १०९ मिलियन डलरका साथ तेस्रो स्थानमा रहेका छन् ।
मेक्सिकन बक्सर कानेलो अल्भारेज ९४ मिलियन डलरसहित चौंथो र स्विस टेनिस स्टार रोजर फेडेरर ९३.४ मिलियन डलरसहित पाँचौ स्थानमा छन् ।
त्यस्तै अमेरिकन फुटबल लिगका रुसेल विल्सन ८९.५ मिलियन डलरसहित छैटौं, अमेरिकन फुटबल लिगकै आरोन रोड्जर्स ८९.३ मिलियन डलरसहित सातौं, बास्केटबलका लेब्रोन जेम्स ८९ मिलियन डलरसहित आठौं, बास्केटबलमै स्टेफेन्स करी ७९.८ मिलियन डलरसहित नवौं र केभिन डुरान्ट ६५। ४ मिलियन डलर सहित दशौँ स्थानमा रहेका छन् ।
महिलातर्फ एक्लो अमेरिकी टेनिस स्टार सेरेना विलियम्स २९.२ मिलियनसहित शीर्ष १०० भित्र परेकी छिन् ।
म्यानचेस्टर युनाईटेडका पाउल पोग्बा ३३ मिलियन डलरसहित ४४ औं स्थानमा रहेका छन् । एजेन्सी