वार्नरकाे शतकमा अष्ट्रेलियाको तेस्राे जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ ३०, बिहिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ ३०, काठमाडौँ । अष्ट्रेलियाले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गर्दै अष्ट्रेलियाले तेस्रो जित निकालेको हो ।

काउन्टी ग्राउण्डमा अष्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४५ ओभर ४ बलमा अलआउट हुँदै २६६ रनमा समेटियो ।

पाकिस्तानका लागि इमाम उल हकले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोहमद हाफिजले ४६, वाहब रियाजले ४५ तथा कप्तान सर्फराज अहमेदले ४० रन बनाए ।

हसन अलीले ३२ रन जोड्दा बाबर आजमले ३० रन बनाए । अष्ट्रेलियाका पाट कुमिन्सले ३ विकेट लिए । यस्तै केन रिचार्डसन र मिचेल स्टार्कले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै ३०७ रन बनाएको थियो ।

अष्ट्रेलियाको लागि डेभिड वार्नरले शतकीय इनिङ्स खेले । एक बर्षे प्रतिबन्धबाट फर्किएका वार्नरले ११ चौका र १ छक्काको मद्दतले १ सय ७ रन बनाए ।

पहिलो विकेटका लागि वार्नरले कप्तान आरोन फिन्चसंग १४६ रनको साझेदारी गरे । फिन्चले ८२ रनको अर्धशतकिय इनिङ्स खेले ।

पाकिस्तानका मोहमद आमिरले ५ विकेट हात पारे । यस्तै शाहिन शाह अफ्रिदीले २ तथा हसन अलि,वहाव रियाज र मोहमद हफिजले समान १/१ विकेट हात पारे ।

यो जितसंगै अष्ट्रेलियाले एकदिवसीयमा पाकिस्तानविरुद्धको जित कायम राखेको छ । पाकिस्तानमाथि अष्ट्रेलियाको यो छैटौं जित हो ।

पाकिस्तानविरुद्ध अष्ट्रेलियाले विश्वकप अघि युएईमा भएको पाँच खेलको एकदिवसीय सिरिजमा क्लिन स्विप गरेको थियो ।

जितसंगै अष्ट्रेलियाले ४ खेलबाट ६ अंक जोडेको छ । र, अष्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

पाकिस्तानको यो दोस्रो हार हो । आठौं स्थानको पाकिस्तानले ४ खेलबाट ३ अंक जोडेको छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस