असार १, काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत शनिबार श्रीलंकालाई ८७ रनले पराजित गर्दै अस्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
पाँचवटा म्याच खेलेको अस्ट्रेलियाले शनिबार चौथो जित हासिल गर्दै ८ अंकका साथ शीर्ष स्थान कब्जा गरेको हो ।
पहिला ब्याटिङ गर्दै अस्ट्रेलियाले श्रीलंकालाई जितका लागि ३३५ रनको विशाल लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले ४६ औं ओभरमा २४७ रन बनाउँदा आफ्ना सबै विकेट गुमाएको हो ।
श्रीलंकाका लागि दिमुत करुणारत्नेले सर्वाधिक ९७ रन बनाए । त्यस्तै कुसाल परेराले ५२ र कुशल मेन्डिसले ३० रन बनाए ।
अस्ट्रेलियाका लागि मिशेल स्टार्कले चार, केन रिचर्डसनले तीन र पेट कमिन्सले दुई विकेट लिए ।
त्यसअघि अस्ट्रेलियाले एरोन फिन्चको विस्फोटक ब्याटिङको मद्दतमा ३३४ रनको विशाल योगफल तयार पारेको थियो । फिन्चले १५३ रनको पारी खेले । त्यस्तै स्टिभ स्मिथले ७३, ग्लेन म्याक्सवेलले ४६ रन बनाए ।