असार २, काठमाडौँ । अमेरिका र स्वीडेन महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
फ्रान्समा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको समूह ‘एफ’ को खेलमा चिलीलाई ३–० ले हराउँदै अमेरिकाले प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । यही समूहको अर्को खेलमा थाईल्याण्डलाई ५–१ ले हराउँदै स्वीडेन पनि नक आउट चरणमा उक्लिएको छ ।
अमेरिका र स्वीडेन दुवै टोलीले समान ६–६ अंक जोडे पनि गोल अन्तरको आधारमा अमेरिका शीर्ष स्थानमा रहेको छ । अन्तिम खेलमा यी दुई टोली आमने सामने हुँदा समूह विजेताको टुंगो लाग्नेछ ।
लगातार दुई खेल हारेको चिली र थाईल्याण्ड भने समूहबाटै घर फर्किने पक्का भएको छ ।