विश्वकप क्रिकेट : भारतलाई हराउदै न्युजिल्याण्ड फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ अषाढ २५, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार २५,काठमाडौँ । जारी विश्वकप क्रिकेटमा सेमिफाईनल खेलमा न्युजिल्याण्ड फाईनलमा प्रवेश गरेको छ । भारतलाई १८ रनले हराउदै न्युजिल्याण्ड फाईनल प्रवेश गरेको हो । न्यूजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । उपाधिका लागि न्यूजिल्याण्डले अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

मंगलबार तय भएको खेलको ४६ ओभर एक बलमा न्यूजिल्याण्डले पाँच विकेटको क्षतिमा २११ रन बनाएपछि खेलमा वर्षा हुँदा खेल बुधबारका लागि स्थगित भएको थियो ।

बुधबार न्यूजिल्याण्डले २८ रन बनाउँदा तीन विकेट गुमायो । न्यूजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २३९ रन बनाएको थियो । न्यूजिल्याण्डका लागि रोस टेलरले सर्वाधिक ७४ रनको योगदान दिए भने केन विलियम्सनले ६७ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन ।

बलिङतर्फ भुवनेश्वर कुमारले तीन विकेट लिए भने जस्प्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युज्भेन्द्र चाहलले एक(एक विकेट लिए ।

२४० रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर ३ बलमा अलआउट हुँदा २२१ रनमा अलआउट भयो । भारतका टप अर्डका खेलाडीहरु केएल राहुल, रोहित शर्मा र विराट कोहली १–१ रन बनाएर आउट हुँदा पाँच रनको अवस्थामा भारतले तीन विकेट गुमाइसकेको थियो ।

दिनेश कार्तिक पनि ६ रन बनाएर आउट भए । ऋषभ पन्त र हार्दिक पाण्ड्याले ३२–३२ रन जोडे । ९२ रन बनाउँदा ६ विकेट गुमाएको भारतका लागि रवीन्द्र जडेजा र महेन्द्रसिंह धोनीले ११६ रनको शतकीय साझेदारी गरेपछि भारतको जितको आशा जागेको थियो । तर, जडेजा ७७ रन बनाएर ट्रेन्ट बोल्टको बलमा केन विलियमसनबाट क्याचआउट हुँदा भारतले २०८ रनमा सातौं विकेट गुमाएको थियो । धोनीले ५० रनको अर्धशतकीय योगदान दिए पनि खेल जिताउन सकेनन् ।
बलिङतर्फ म्याट हेनरीले तीन विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल सान्टनरले २–२ विकेट लिए ।

ताजा अपडेट

खोजी गर्नुहोस