साउन ५, काठमाडौँ । पाँचौ एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमालाई नेपाल सेटलाइट टेलिकमले प्रायोजन गरेको छ । नेपाल भलिबल संघको आयोजनामा च्याम्पियनसिप साउन ३२ गतेदेखि भदौ ८ गते सम्म नेपाली सेनाको लगनखेस्थित कभर्ड हलमा सञ्चालन हुनेछ ।
नेपाल सेटलाइट टेलिकमले च्याम्पियनसिपलाई २० लाख रुपैयाँ प्रायोजन गरेको छ । टेलिकमकी अध्यक्ष अस्मिता सुमार्गीले शनिबार राजधानीमा आयोजित कार्यक्रममा भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालाई चेक हस्तान्तरण गरेकी थिइन् ।
च्याम्पियनसिपमा नेपाल सहित बंगलादेश,मालदिभ्स,अफगानिस्तान,किर्गिस्तान, तुर्किमिनिस्तान, र उज्वेकिस्तान गरि ७ टोलीको सहभागिता रहनेछ । नेपाल सेटलाइट टेलिकमकी अध्यक्ष समार्गीले नेपालमा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना हुनु गर्वको विषय भएको उल्लेख गर्दै भनिन्,‘त्यस्तो प्रतियोगितामा हाम्रो कम्पनीले सहयोग गर्न पाउनु खुसीको विषय हो । यसलाई सफल पार्न हामी सबैले आ आफ्नो ठाँउबाट प्रयास गर्नुपर्दछ ।’
संघका अध्यक्ष शर्माले नेपाल सेटलाइट टेलिकमलाई प्रायोजनका लागि धन्यवाद दिएका थिए । संघका महासचिव जितेन्द्रबहादुर चन्दका अनुसार सहभागी टोली मध्ये अफगानिस्तान प्रतियोगिताको झन्डै एक साता अघि आउने सम्भावना रहेको बताए । उनले च्याम्पियनसिप अघि अफगानिस्तानसँग मैत्रीपूर्ण खेलको प्रयास गरिने समेत बताए । अन्य टोली भने प्रतियोगिताको दुई दिन अघि काठमाडौं आइपुग्ने बताइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले च्याम्पियनसिपका लागि यसअघि नै ४० लाख रुपैयाँको प्रायोजन गरेको थियो । त्यस्तै च्याम्पियनसिपका लागि भलिबल संघका सचिव मनवीर छन्त्याल अध्यक्ष रहेको ढोरपाटन स्पोर्टस क्लब र संघकी सदस्य प्रिन्सिपल रहेको अनज्योतिले समान १ लाख रुपैयाँ सहयोग गरेका थिए ।