साउन १२, काठमाडौँ । सिंगापुरमा भएको टीट्वेन्टी विश्वकपको एसियाली छनोट नेपालका लागि विर्सनलायक रह्यो। आइतबार भएको खेलमा सिंगापुरसँग पराजित भएपछि नेपाल विश्वस्तरको छनोटमा पुग्न सकेन।
टीट्वेन्टी क्रिकेटका विश्व चर्चित नेपाली स्पीनर सन्दीप लामिछाने यो नतिजाबाट दुखित र निराश हुनु स्वभाविक हो। सिंगापुरविरुद्ध उनले ३ ओभरमा ३४ रन खर्चिए भने एक विकेट पनि प्राप्त गर्न सकेनन्।
प्रतियोगिताभर उनले सात विकेट लिए। सर्वाधिक विकेट लिएका कतारका इकबाल हसनभन्दा पाँच विकेटले पछाडि रहे। उनको इकोनोमी पनि सन्तोषजनक रहन सकेन। उनले ८.०७ को इकोनोमीमा बलिङ गरे।
सन्दीप आइतबार नै क्यानडा जाँदैछन्। क्यानडामा भएको ग्लोबल टीट्वेन्टी क्रिकेटका लागि सन्दीप जान लागेका हुन्। यस प्रतियोगितामा नेपालका सोमपाल कामीले पनि खेल्नेछन्। सोमपालको यो पहिलो अन्तर्राष्ट्रिय व्यावशायीक क्रिकेट प्रतियोगिता हो।
सन्दीपले टोरन्टोबाट खेल्नेछन्। टोरन्टोले दुई खेलबाट दुई अंक जोडेको छ। यसैगरि सोमपालले विनिपेग हक्सबाट खेल्नेछन्। एक खेल खेलेको हक्सले पराजय ब्यहोरेको थियो। सिंगापुरमा भएको एसियाली छनोट सोमपालका लागि पनि स्मरणयोग्य रहेन। उनले चार खेलमा केवल तीन विकेट हात पारे।
ग्लोबल टीट्वेन्टीमा सोमबार सन्दीप र सोमपालका टोली आमने सामने हुँदैछन्। यो खेलका लागि नेपालका यी दुवै खेलाडी उपलब्ध हुनेछन्।