आश्विन २१,काठमाडौँ । पाँच देश सम्मिलित टी-२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले हराएको छ। नेदरल्याण्ड्सले दिएको १३४ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै भेट्टाएको हो ।
नेदरल्याण्ड्सलाई १३३ रनमा रोक्न ४ विकेटको महत्वपूर्ण योगदान दिएका करन केसीले १४ बलमा ३१ रन बनाएपछि नेपाल विजयी भएको हो ।
अन्तिम ओभरमा १७ रन आवश्यक हुँदा क्रिजमा रहेका करन केसीले पहिलो बलमा छक्का, तेस्रोमा चौका तथा चौथो बलमा फेरि छक्का प्रहार गरेपछि स्कोर बराबर भएको थियो । पाँचौँ बलमा १ रन लिँदै केसीले नेपाललाई प्रतियोगिताको दोस्रो जित दिलाएका हु्न् ।
यसअघि १३४ रनको लक्ष्य दिने क्रममा नेदरल्याण्ड्सका लागि म्याक्स ओुदाउदले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेरमनले २९, एन्टोनस स्टालले २१ र स्कट एडवार्डसले १६ रन बनाएका थिए ।
बलिङतर्फ करन केसी र सन्दीप लामिछानेले ४(४ तथा ललित राजवशीले १ विकेट लिएका थिए । एक विकेट भने रन आउटका रुपमा आएको थियो ।
१३४ रनको लक्ष्य भेट्न मैदानमा उत्रेको नेपालले मध्यम सुरुवात गरेको थियो । टिमको स्कोर २५ रन हुँदा पवन सर्राफ आउट भए । त्यसपछि २९ रन हुँदा आरिफ शेख दोस्रो विकेटका रुपमा आउट भए । दिपेन्द्र सिंह ऐरी पनि व्यक्तिगत ८ रन बनाएर आउट भए ।
त्यतिञ्जेलमा नेपालको स्थिति ११ ओभर ४ बलमा ६१ रन थियो । त्यसपछि विनोद भण्डारी क्रिजमा आए तर १४औँ ओभर चलिरहँदा ओपनिङमा आएका कप्तान पारस खड्का व्यक्तिगत ३३ रन बनाएर चौथो विकेटका रुपमा पतन भएपछि नेपालको स्थिति अलि धराशायी भएको थियो ।
१७औँ ओभरमा रोहित पौडेल ५ रनमा तथा १८ औँ ओभरमा विनोद भण्डारी २६ रन बनाएर आउट हुँदा नेपाल ६ विकेट गुमाएर १०६ रनको स्थितिमा थियो ।
जितका लागि बाँकी १२ बलमा २८ रन आवश्यक हुँदा सोमपाल कामी करन केसीलाई साथ दिन क्रिजमा आए । १९ औँ ओभरमा ११ रन आएपछि नेपाललाई अन्तिम ६ बलमा १७ रन आवश्यक हुँदा स्ट्राइकमा रहेका करन केसीले पहिलो बलमा छक्का, तेस्रोमा चौका तथा चौथो बलमा फेरि छक्का र पाँचौँमा १ रन प्रहार गरेपछि नेपालले झण्डै झण्डै गुमाइसकेको खेल आफ्नो पक्षमा पार्न सफल भयो ।