आश्विन २९,काठमाडौँ । आश्चर्यजनक तरिकाले नेपाली क्रिकेट टिमको कप्तान पदबाट पारस खड्काले राजीनामा दिएका छन् । उनले राजीनामा गर्दा नयाँ निर्वाचित क्यानलाई काम गर्न सजिलो होस भनेर आफूले कप्तान पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । फेसबुकबाट आफूले राजीनामा दिएको घोषणा गरेका पारसले काठमाण्डौ भएको वुमेन्स च्याम्पियन्स लिगको ट्रफी सार्वजनिक कार्यक्रममा मिडियासँग यसरी खुलेर कुरा राखे ।
के भने पारसले ?
मैले कप्तानी पद सम्हालेको पनि १० वर्ष भइसकेको छ । म आफै पनि नेपाली क्रिकेटको निलम्बन फुकुवा कहिले हुन्छ भनेर कुरेर बसेको थिए । हिजो मात्रै नेपाल क्रिकेट संघको निलम्बन फुकुवा भएको छ । हिजो मात्रै आईसीसीबाट सार्वजनिक भएको निर्णयले हामी सबै क्रिकेट समर्थक खेलाडी र नेपाली खेलकुद प्रेमीहरु खुशी भएका छौं । अब नयाँ क्याप्टेन को बन्छ भन्ने कुरामा मेरो वास्ता हुँदैन ।
म कप्तान हुँदा पनि तपाईँ क्याप्टेन बन्दै हुनुहुन्छ तयार हुनुस् भनेर त्यतिबेला पनि भनिएको थिएन । २००९ मा मलाई क्रिकेट संघले कप्तानको जिम्मेवारी दियो र मैले इमान्दारितापूर्वक जिम्मेवारीलाई पूरा गर्ने कोसिस गरेँ ।
अब नेपाली क्रिकेट टिमको कप्तान जो बने पनि नेपाली क्रिकेटको जित हुनु पर्छ । नेपाली क्रिकेटले अहिलेसम्म जुन उपलब्धि हासिल गरेको छ त्यसमा खेलाडी र प्रशिक्षकको ठूलो भूमिका छ । म कप्तान भएकै कारण नेपाली क्रिकेटले ठूलो उपलब्धि हासिल गरेको पनि होइन र म कप्तानबाट हट्दैमा यो उपलब्धि गुम्छ भन्ने पनि छैन । यहाँसम्म आइपुग्न सम्पूर्ण खेलाडी र प्रशिक्षकको ठूलो भूमिका छ ।
क्रिकेट भनेको हामी सबैको हो भन्ने सोचका साथ हामी अगाडि बढौँ । आशा छ आगामी दिनमा नेपाल क्रिकेटले अझ बढी सफलता हासिल गरोस । अबको नेतृत्वले नेपाली क्रिकेटलाई राम्रो बनाउने सोच लिने हो भने अहिलेको भन्दा अझ राम्रो अवस्थामा नेपाली क्रिकेट पुग्छ भन्नेमा म विश्वस्त छु ।
सबै खेलाडीको साथ र सहयोगका कारण म एकदमै सन्तुष्ट छु । नेपाली क्रिकेट यहाँसम्म आइपुग्नुमा प्रशिक्षकको खेलाडीको ठूलो साथ र सहयोग छ । प्रशिक्षक लुक रोय डायसदेखि उमेश पटवालसम्मलाई धन्यवाद दिन चाहन्छु । तीन जना विदेशी र एक जना स्वदेशी प्रशिक्षक जगत गुरुको ठूलो योगदान छ ।
हामी सबैको एउटै सोच थियो जसरी भए पनि नेपाल क्रिकेटलाई माथि पुर्याउने । यो सोच सबै ठाउँबाट एकमुष्ट रुपमा शक्तिको रुपमा अगाडि बढ्दा हामी यहाँसम्म आइपुग्यौँ ।
म अझै क्रिकेट खेल्छु । सन्यास लिएको होइन । कप्तान मात्रै छाडेको हो । विगत तीन वर्षदेखि कप्तान, सेलक्टर, मेन्टर भएर पनि काम गरेँ । जसबाट अब मैले ब्रेकमात्र लिएको हो । अहिले क्यानको नेतृत्व आएको छ । अब खेलाडी छनोट समिति बन्छ, प्रशिक्षकहरु आउनुहुन्छ उहाँहरुले निर्णय गरेपछि मेरो भूमिका तय हुन्छ ।
मेरो उहाँहरुसँग कुरा पनि भएको छैन । यहाँ निर्वाचन हुने बेला हामी सिंगापुर सिरिजमा व्यस्त थियौँ । हामी एउटा व्यक्तिमा नअड्कियौं । अब क्रिकेट संघले खेल र खेलाडीलाई प्राथमिकतामा राख्नु पर्छ ।