चितवन ऐतिहासिक प्रतियोगिताको फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक ३, आईतबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

कार्तिक ३, काठमाडौं । चितवन राइनोज वुमन नेपालमा पहिलोपटक आयोजित महिला च्याम्पियन्स लिग (डब्लुसीएल) क्रिकेटको फाइनल पुगेको छ। पहिलो चरणको अन्तिम खेलमा आइतबार विराटनगर टाइटन्स वुमनलाई ५३ रनले पराजित गर्दै चितवन उपाधि नजिक पुगेको हो।

चितवनले पहिलो चरणका सबै चार खेल जित्यो। पहिलो चरणको समाप्तीमा शीर्षस्थानमा रहने टोली फाइनल पुग्ने तथा दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच फाइनल पुग्न प्रतिस्पर्धा हुने प्रतियोगिताको ‘फर्म्याट’ रहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय २२ रन जोडेको थियो। चितवनका काजल श्रेष्ठले ३६ र कन्चन श्रेष्ठले ३४ रन बनाए। इन्दु बर्माले १७ र सुमन खतिवडाले १० रन बनाए। काजल र कन्चनले पहिलो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए।

विराटनगरकी सबनम राईले २ विकेट लिए। सोनु खड्का, सर्मिला मगर र आरती बिँडारीले एक एक विकेट हात पारे।

विराटनगर १५ ओभर ५ बलमा ६९ रनमा सिमित भयो। चितवनका कविता गौतमले तीन र सुमन खतिवडाले दुई विकेट लिए। रेखा रावल, रितु कनौजिया र सन्तोषी चौधरीले एक एक विकेट हात पारे। कविताले तीन ओभरमा पाँच रनमात्र दिइन्। सुमनले ४ ओभरमा २३ रन खर्चिइन्।

चार खेलको समाप्तीमा क्याट क्विन्स काठमाडौं चार खेलबाट ६ अंक जोडेर दोस्रो भयो। तेस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट ४ अंक जोड्यो। अब फाइनल पुग्ने काठमाडौं र विराटनगरबीच प्रतिस्पर्धा हुने छ।

ताजा अपडेट

खोजी गर्नुहोस