कार्तिक ७, काठमाडौं । विश्व विजेता अमेरिकी महिला फुटबल टिमकी उप कप्तान एलेक्स मोर्गन आफू गर्भवती रहेको जानकारी दिएकी छन् । मोगर्नसहितको अमेरिकी टोलीले तीन महिनाअघि महिला विश्वकप फुटबलको उपाधि जितेको थियो ।
३० वर्षकी मोर्गन महिला विश्वकप २०१९ मा सर्वाधिक गोल गर्ने मध्येकी एक खेलाडी हुन् । उनलाई विश्वको सबैभन्दा प्रभावशाली महिला खेलाडीका रुपमा लिइन्छ ।
उनले आफ्नो पहिलो सन्तान सन् २०२० को अप्रिलमा जन्माउने छिन् । त्यसको तीन महिनापछि अमेरिकाले टोकियोमा हुने ओलम्पिकमा सहभागिता जनाउने छ । मोर्गनले श्रीमान सेर्भान्डो कारास्कोसँगको तस्बिर ट्वीट गरेर गर्भ बारे जानकारी दिएकी हुन् ।
मोर्गनका श्रीमान सेर्भान्डो पनि फुटबलर हुन् । उनी अमेरिकाको मेजर लिग सकर क्लब एलए ग्यालेक्सीबाट खेल्छन् । मोर्गन र सेर्भान्डोले पहिलो सन्तानको रुपमा छोरीलाई स्वागत गर्दै छन् ।
मोर्गनले अमेरिकाको राष्ट्रिय टिमबाट १६९ खेलमा १०७ गोल गरेकी छन् । उनले सन् २०१५ र २०१९ मा विश्वकपको उपाधि पनि जितिन् । एजेन्सी