कार्तिक ७, काठमाडौं । अघिल्लो सिजनको सेमिफाइनलिस्ट डच क्लब अजाक्सलाई चेल्सीले स्तब्ध पारेको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह एच को खेलमा बुधबार राति भएको खेलमा चेल्सीले अजाक्सलाई १–० ले पराजित गरेको हो ।
अन्तिम समयसम्म गोलरहित रहेको खेलमा चेल्सीलाई जिताउन ८६ औँ मिनेटमा मिसी बात्सुयीले गोल गरे । मैदान छिरेको १५ मिनेटपछि बात्सुयीले गोल गरेका हुन् ।
डच क्लब अजाक्सले समूह चरणमा यसअघि भएका दुवै खेलमा जित निकालेको थियो, तर चेल्सीसँग भने पराजित भयो । अधिकांश युवा खेलाडी रहेको अजाक्स पराजित भए पनि समूहको दोस्रो स्थानमा छ । उसको तीन खेलबाट ६ अंक छ ।
यस्तै जित निकालेको चेल्सी ६ अंकसहित शीर्ष स्थानमा पुगेको छ । समूह एच अन्तर्गतकै खेलमा भ्यालेन्सियाल र लिलेले १–१ को बराबरी खेलेका छन् ।