माघ १५,काठमाडौँ । मनाङ मर्स्याङ्दीलाई सडन डेथमा पराजित गर्दै जावलाखेल युथ क्लब २३औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ। सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा आज भएको खेलमा निर्धारित ९० र अतिरिक्त समय ३० मिनेटको खेल दुवैले एक–एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो। पाँच पेनाल्टी प्रहार पनि चार–चारको बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो। दुवै टोलीका नौ–नौ खेलाडीले पेनाल्टी प्रहार गर्दा जावलाखेल ७–६ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो।
जावलाखेलको सेमिफाइनल यात्रामा गोलकिपर अनिश देउला नायक साबित भए। उनले पेनाल्टी प्रहारमार्फत गोल गरे भने लगत्तै मनाङ मर्स्याङ्दीका रणदीप पौडेलको पेनाल्टी रोक्दै टोलीलाई जित आत्मसात गराए।
खेलमा अग्रता पनि जावलाखेलले लिएको थियो । हिसुब थपलियाले ५५औँ मिनेटमा सुदीप श्रेष्ठले दिएको पासमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। तर, ८९औँ मिनेटमा मनाङका राजेश परियारले बराबरी गोल गरेका थिए। त्यसपछि थपिएको ३० मिनेटमा दुवैतर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो।
फाइनल प्रवेशका लागि अब जावलाखेलले थ्रीस्टारको सामना गर्नेछ। भोलि अन्तिम क्वार्टरफाइनलमा चर्च ब्वाइज र नेपाल पुलिस क्लब भिड्नेछन्।