जेठ २९,काठमाडौँ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गरेको ट्वान्टी–२० पुरुष विश्वकप क्रिकेट सुरु भएको ११ दिन भइसकेको छ । अमेरिकाको क्रिकेटको राजधानी मानिएको फ्लोरिडाले भने मंगलबार विश्वकपको पहिलो खेल आयोजना गर्दैछ । फ्लोरिडाको पहिलो खेलमा नेपाल र श्रीलंकाको पहिलो भेट
लडरहिलस्थित ब्रवर्ड क्रिकेट रंगशालामा नेपाल र श्रीलंका आमने सामने गर्दैछन् । यी दुई टोलीबीचको पनि यो पहिलो अन्तर्राष्ट्रिय भिडन्त हो । यो सँगै नेपालले दक्षिण एसियाका ७ टोलीसँग प्रतिस्पर्धा गर्ने टोली बन्ने छ ।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले अवको ६ दिनमा तीन टेस्ट राष्ट्रसँग खेल्ने छ, त्यसको सुरुआत श्रीलंकाबाट गर्न लागेको हो । नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा समूहचरणको अन्तिम दुई खेल खेल्ने छ । श्रीलंकाले सेन्ट लुसियामा नेदरल्यान्ड्ससँग जुन १६ मा समूहचरणको अन्तिम खेल खेल्ने छ ।
नेपाललाई सुपर ‘एट’ मा पुग्न बाँकी खेल जित्नु पर्ने दबाब रहेको छ । समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान रहेको छ । श्रीलंका पहिलो दुई खेलमा क्रमशः दक्षिण अफ्रिकासँग ६ विकेटले र बंगलादेशविरुद्ध २ विकेटले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिने स्थितिमा छ ।
पहिलो दुई खेलमा पराजित भएकाले दबाब श्रीलंकाली टोलीमा रहेको नेपालका कप्तान रोहित पौडेलले बताएका थिए । तर लउडरहिलमा नेपालको यो पहिलो खेल हो । यस मैदानमा नेदरल्यान्ड्स र आयरल्यान्डविरुद्ध दुई अभ्यास खेल खेलेकाले श्रीलंका यहाँको विकेटसँग परिचित भइसकेको छ ।
पहिलो अभ्यास खेलमा नेदरल्यान्ड्सले १८१–६ को स्कोर बनाएको थियो भने जवाफमा आएको श्रीलंका १९ ओभरमा १ सय ६१ रनमा अलआउट भएर २० रनको पराजय भोगेको थियो । आयरल्यान्डविरुद्धको दोस्रो अभ्यास खेलमा श्रीलंका ४१ रनले विजयी भएको थियो । पहिला ब्याटिङ गरेको श्रीलंकाले १६३–८ को स्कोर बनाएको थियो । आयरल्यान्ड १० बल अगाडि १ सय २२ रनमा अलआउट भएको थियो ।
डालासमा क्यानडाविरुद्धको अभ्यास खेल र नेदरल्यान्ड्सविरुद्धको विश्वकपको पहिलो खेलमा नेपाली टोली थकित देखिएको थियो । नेपाली टोली बुधबार फ्लोरिडा आएको थियो र बिहीबार प्रशिक्षण गरेको थियो । त्यसपछिको दुई दिन नेपालले वर्षाका कारण अभ्यास गर्न पाएको थिएन ।
आइतबार प्रशिक्षणमा बिताएको नेपालले सोमबार विश्राम लिएको थियो । श्रीलंकाले सोमबार ‘लाइट ट्रेनिङ’ गरेको थियो । तर प्रशिक्षण सुरु गरेको केही समयमा मौसम बदलिएर सामन्य पानी पर्न लागेपछि श्रीलंकाले प्रशिक्षण रोकेको थियो ।