असोज १३,काठमाडौँ । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अल आउट भयो ।
नेपालका कप्तान रोहित पौडेलले ३९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । अन्य कुनैपनि ब्याटरको प्रदर्शन सम्झन लायक रहेन ।
ओपनर अनिल साह ९ र आसिफ शेख ८ रनमा आउट भए । देव खनाल ११, कुशल मल्ल १२, मध्यक्रममा झरेका कुशल भुर्तेल ७, दीपेन्द्रसिंह ऐरी ६, सोमपाल कामी १, सन्दीप लामिछाने १० र करण केसी ५ रनमा आउट भए ।
क्यानडाका कलिम सानाले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । साद बिन जाफरले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । प्रविन कुमार र अखिल कुमारले १(१ विकेट लिए ।
त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन बनाएको थियो ।
आईसीसी विश्वकप लिग २ मा नेपाल क्यानडासँग १०३ रन र ५ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा आइतबार राती ओमानसँग खेल्नेछ ।