फागुन १८, वीरगंज । मधेस प्रदेशकै सर्वाधिक धनराशि पुरस्कार भएको दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगिता आगामी शनिबारदेखि सुरू हुने भएको छ । भेट्रान सिटी क्लब वीरगन्जको आयोजनामा फागुन १७ गतेदेखि २४ गतेसम्म वीरगंजको आर्दशनगर रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आठ फुटबल टोलीहरूले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ। नकआउट चरणमा खेलाइने प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती यूथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमण्ड फुटबल क्लब दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिराहा तथा आयोजक वीरगन्ज युनाइटेड क्लब सहभागी हुनेछन् ।
विजेतालाई ११ लाख रुपैयाँभन्दा बढी पुरस्कार
प्रतियोगिताको विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवका अनुसार प्रतियोगिताको मुख्य प्रायोजक वीरगंज महानगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
दर्शकका लागि अस्थायी प्याराफिट निर्माण प्रतियोगिता हेर्न आउने दर्शकलाई ध्यानमा राख्दै अस्थायी प्याराफिट निर्माण गरिएको छ, जसमा दुई हजारभन्दा बढी दर्शक अटाउने क्षमता रहेको छ भने ग्राउन्डमा थप तीन हजारभन्दा बढी दर्शक अटाउनेछन् ।
भेट्रान सिटी क्लब वीरगंजका उपाध्यक्ष सागर समशेर जबराले मधेस प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।
गत वर्ष कात्तिकमा सम्पन्न प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको थियो भने नेपाल आर्मी क्लब उपविजेता बनेको थियो । पछिल्ला वर्षहरूमा वीरगंजमा सुस्ताएको फुटबल गतिविधिलाई पुनः सक्रिय बनाउन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।