फागुन २०, वीरगञ्ज । भेट्रान्स सिटी क्लब वीरगञ्जले आयोजना गरेको मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशिको दोस्रो संस्करणको वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको चौथो खेलमा मच्छिन्द्र फुटबल क्लब र एपीआइ चर्च ब्वाइज युनाइटेडबिच प्रतिस्पर्धा हुँदै छ ।
मङ्गलवार दिउँसो ३ बजेदेखि वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा हुने खेलमा दोस्रो सेमिफाइनलमा पुग्नका निमित्त दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रिने छन् । शनिवारदेखि सुरु भएको प्रतियोगितामा तिन खेल सम्पन्न भइसकेका छन् । उद्घाटन खेलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जका तर्फबाट प्रतिस्पर्धा गरेको वीरगञ्ज युनाइटेड विजयी भएको थियो । वीरगञ्ज युनाइटेडले गरवाल डाइमण्ड फुटबल क्लब दिल्लीलाई १-० गोल अन्तरले पराजित गर्दै आफ्नो पहिलो जित दर्ता गरेको थियो । त्यस्तै आइतबार भएको दोस्रो खेलमा सलहेश फुटबल क्लब सिराहाले सङ्कटा क्लब काठमाडौँलाई पराजित गरेको थियो । निर्धारित ९० मिनेटमा कुनै टिमले गोल गर्न नसकेपछि टाई ब्रेकरमा सलहेश फुटबल क्लबले सङ्कटा क्लबलाई ५–४ को गोल अन्तरले पराजित गरेको थियो ।
तेस्रो खेलमा डिफेन्डीङ् च्यापियन नेपाली पुलिस क्लब विजयी भयो । सोमबार भएको तेस्रो खेलमा विभागीय टोली समेत रहेको नेपाल पुलिस क्लबले बागमती युवा क्लबलाई २-० ले पराजित गरेको थियो ।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।