काठमाडौं । तेस्रो नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्स पुगेको छ । दस खेलाडीमा सीमित पोखराले बुधबार धनगढी एफसीलाई क्वालिफायर टुमा १–० ले हराएको हो ।
पोखरा थन्डर्स पहिलो पटक एनएसएलको फाइनलमा पुगेको हो । पोखरा थन्डर्सले शनिबार गत विजेता ललितपुर सिटी एफसीविरुद्ध उपाधि भिडन्त गर्ने छ ।
खेलको इन्जुरी समयमा क्यामरुनी स्ट्राइकर स्टेफन समीर विनोङले गरेको हेड गोलले बराबरीतर्फ अग्रसर खेलमा पोखरा थन्डर्सले नाटकीय जित हात पारेको हो ।
दशरथ रङ्गशालामा इन्जुरी समयको चौथो मिनेटमा विनोङले गोल गरे । पोखराका कप्तान आयुष घलानको कर्नर प्रहारमा विनोङले हेड गोल गरेका हुन् । यसअघि खेलको ८५ औँ मिनेटमा पोखराका गौरव श्रेष्ठले रातो कार्ड पाएका थिए ।
धनगढीका प्रशिक्षक हुवाँ म्यानुअल मार्टिनेजले सेट पिसेजमा राम्रो मार्किङ गर्न नसक्दा हार बेहोर्नु परेको दिए । यसै गरी धनगढीका कप्तान देवेन्द्र तामाङले विपक्षी टिम दस खेलाडीमा सीमित भएपछि आफ्नो टिम बढी आत्मविश्वासी भएको र त्यसैले डुबाएको धारणा राखे । पोखराका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टिमको जित क्लबको व्यवस्थापन र समर्थकलाई दिए ।
धनगढी एफसी र पोखरा थन्डर्सबिचको खेलको मध्यान्तरमा ब्राजिलका लिजेन्ड लेफ्ट ब्याक रोबर्टो कार्लोस मैदानमा उत्रिएका थिए । त्यसपछि उनले दशरथ ङ्गशालामा डिबक्सबाहिरबाट फ्रिकिक प्रहार गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए ।
कार्लोसको फ्रिकिकमा ललितपुर सिटी एफसीका गोलरक्षक समित श्रेष्ठले गोलकिपिङ गरेका थिए ।