गाउँमै उद्यमी बन्दै युवा ! स्थानीय आचार्यले खोले बडहरेमा रेष्टुरेन्ट

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७५ आश्विन १५, सोमबार (६ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

परिवर्तन देवकोटा ।

असोज १५, धादिङ । गल्छी गाउँपालीका ३, बडहरेमा नयाँ रिसोर्ट ‘बडहरे भ्यू कटेज एण्ड गुलेली रेस्टुरेन्ट’ स्थापना भएको छ । स्थानीय व्यवसायी कल्याण आचार्यको एकल लगानीमा निर्माण भएको उक्त रिसोर्ट आश्विन २४ गते घटस्थापनाको दिन पारेर सञ्चालनमा ल्याइनेछ ।

‘बडहरे भ्यू कटेज एण्ड गुलेली रेस्टुरेन्ट’ सञ्चालनमा ल्याउने तयारी गरेका व्यवसायी आचार्यका अनुसार, यस रिसोर्टमा स्विमिङ पुल, खेलकुद मैदान लगायतका अन्य आकर्षक प्याकेजहरु रहनेछन् ।

हाइवेबाट २ किलोमिटर भित्र पर्ने यो रिसोर्टमा लोकल खाना, गुन्द्रक ढिँडो, कुखुराको मासु लगायत अन्य लोकल एवम् कन्टिनेन्टल परिकारको स्वाद लिन सकिनेछ । साथै यहाँ अर्गानिक परिकारको मज्जा लिन सकिनेछ ।

सञ्चालक आचार्यका अनुसार, रिसोर्टबाट केही परबाट अनुपम झरनामा मज्जा लिन सकिनेछ । उनी भन्छन्, ‘गाउँबाट केही माथिको चर्चित गुप्तेश्वरी गुफा तथा गुप्तेश्वर महादेवको दर्शनका लागि जाने आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि रिर्सोट आकर्षकको केन्द्रविन्दु हो ।’ यसका अलवा, यहाँबाट हरियाली बनजङ्गलमा रमाईलो गर्न सकिने, हाइकिङको लागि उत्तम स्थानहरु पनि जान सकिनेछ ।

जिल्लाकै चर्चित गुप्तेश्वरी गुफा, चर्चित भैरवी मन्दिर तथा अन्य पर्यटकिय स्थलहरुको अवलोकन गर्न जानेहरुका लागि लक्षित यो रिर्सोटमा आफ्नै गाउँका दक्ष जनशक्तिलाई रोजगार दिइने पनि आचार्य बताउँछन् ।

केही समयअघि रोजगारीको शीलशीलामा परदेश पुगेका आचार्यले यसअघि गाउँमै पहिलोपटक धान÷चामल कुट्ने मिल स्थापना गरेका थिए । मिल स्थापना गरि व्यावसायिक जिवनमा प्रवेश गरेका आचार्यले अहिले रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । उनी भन्छन्, ‘परदेशमा सिकेको सिप आफ्नै देशमा, आफ्नै गाउँमा लगानी गर्न पाउनु मेरो सुखद् पल हो ।’

उनले आफुले जस्तै अन्य परदेशीयका युवा जनशक्ति स्वदेशमा फर्किई त्यहाँ आर्जन गरेको सिप यहाँ सदुपयोग गर्नुपर्ने धारणा समेत व्यक्त गरेका छन् । उनले सरकारले पनि विदेशीयका युवा जनशक्तिको सिपको सदुपयोग गर्न पहल गर्नुपर्नेमा जोड दिए । उनी भन्छन्, आर्थिक समृद्धिका लागि र रोजगारी उपलब्ध गराउन पनि रिसोर्टको भूमिका रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस