कात्तिक १९, काठमाडौं । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा करोडौं लगानीमा टोड्के हिल रिसोर्ट प्रालिले निर्माण गरेको सुविधा सम्पन्न रिसोर्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
समुद्री सतहबाट २ हजार ३ सय ५० मिटर उचाइमा टोड्के क्षेत्रको भ्रमणमा जाने पर्यटकको सुविधालाई दृष्टिगत गरी निर्माण गरिएको सो रिसोर्ट आगामी पुसदेखि सञ्चालनमा ल्याउने तयारी भएको टोड्के हिल रिसोर्ट प्रालिका अध्यक्ष मीनवहादुर पाइजाले जानकारी दिए । ‘टोड्के क्षेत्रमा आउने पर्यटकलाई खाना र बासस्थानको अभावले समस्या परेपछि रिसोर्ट सञ्चालन गर्न लागिएको हो, अहिले धमाधम आवासलगायत पूर्वाधार निर्माण भइरहेको छ,’ अध्यक्ष पाइजाले भने ।
३ करोड रुपैयाँ लागत अनुमान गरिएको रिसोर्टमा ४० जना क्षमताको १० ओटा एटेज कोठा, बार हल, १ सय जना क्षमताको सेमिनार हल, विशिष्ट अतिथि भवनलगायत संरचना रहने अध्यक्ष पाइजाले जानकारी दिए ।
नौ जना संस्थापक रहेर स्थापना गरेको टोड्के हिल रिसोर्ट प्रालिले म्याग्दीबासीलाई १ लाखदेखि ५ लाख रुपैयाँसम्म लगानी गर्नसमेत अवसर दिएको छ । अहिलेसम्म २८ जनाले रिसोर्टमा लगानी गरेका अध्यक्ष पाइजाले बताए ।
प्रालिले साढे ४ रोपनी जग्गा खरीद गरेको छ भने आवश्यक पर्ने थप जग्गा स्थानीय सिद्ध सामुदायिक वन झिँसँग भाडामा लिने सम्झौता गरी पूर्वाधार निर्माणलाई अघि बढाएको छ । रिसोर्टबाटै संसारको सातौं अग्लो धवलागिरि हिमालसहित अन्नपूर्ण शृङ्खलाका एक दर्जन हिमाल नजिकबाट नियाल्न पाउनु थप विशेषता रहेको छ ।
निर्माणाधीन रिसोर्टमा झिँ, पूर्णगाउँ, डडुवा, वाखेत, कुहुँ, पात्लेखेतलगायत गाउँमा उत्पादन हुने स्थानीय कृषि उपजलाई नै उपयोग गरी आग्र्यानिक परिकार आकर्षणका रूपमा रहने अर्का सञ्चालक मोहन खत्री बताउँछन् । दर्जन बढी हिमालको अवलोकन गर्न सकिने टोड्केमा रिसोर्ट सञ्चालनसँगै थप पर्यटक आगमन बढ्ने विश्वास लिइएको टोड्के क्षेत्रविकास कोषका अध्यक्ष बाबुराम आचार्यको भनाइ छ ।