‘पर्यटन क्षेत्रको विकासमा हवाई सेवा प्रभावकारी’ : उड्डयनमन्त्री अधिकारी

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७५ माघ २२, मंगलबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २२, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा पर्यटन क्षेत्रको विकासका लागि हवाई सेवा प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल पर्वतरोहण सङ्घद्वारा यहाँ सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको १६ औँ वार्षिकोत्सवको मंगलबार उद्घाटन गर्दै उनले समय सापेक्षरुपमा पर्यटकले सुलभ प्रकृतिका सेवा उपयोग गर्ने हुँदा हवाई सेवालाई सहज बनाउनुपर्ने बताए।

उनले हवाई सेवा सञ्चालन प्रभावकारी बनाउन सरकारले योजना अगाडि सारेको उल्लेख गरे। मन्त्री अधिकारीले धनगढी, भैरहवा, नेपालगञ्ज, सिमरा, विराटनगर लगायतका विमानस्थलमा रात्रि हवाई सेवा सञ्चालन गर्नुका साथै निकट भविष्यमा जनकपुरमा सेवा विस्तार गरिने तयारी भई रहेको जानकारी दिए।
पोखरा विमानस्थलमा प्राविधिक कारणले रात्रि सेवा सञ्चालन गर्न नसकिने बताउँदै उनले पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि मात्र उक्त सेवा शुरु गरिने बताए।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाल पर्वतारोहण सङ्घको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि हिमाल आरोहण गर्ने विश्वका आरोहीलाई आमन्त्रण गर्नुपर्नेमा जोड दिए। नेपाल एयरलायन्सलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताउँदै उनले हवाई जहाज खरीद प्रकृयामा देखिएको अनियमितता सम्बन्धमा छानबिन गरी कारवाही हुने विश्वास व्यक्त गरे।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालको समृद्धिको मुख्य आधार पर्यटन भएको बताउँदै उचित सदुपयोग गरिनुपर्नेमा जोड दिए। नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ वन क्याटलकले प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालले गुणस्तरीय पर्यटकलाई आवश्यक भौतिक पूर्वाधारमा जोड दिनुपर्ने बताए।

सो अवसरमा मन्त्री अधिकारी र राजदूत क्याटलकले सङ्ग्रहालयमा निर्माण गरिएको टोनी हेगन, पासाङलामु शेर्पा र शम्भु तामाङ कर्नरको सामुहिक रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा सङ्ग्रहालयका विज्ञ बलप्रसाद राई र कर्मचारी सरस्वती नेपालीलाई नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

हिमाल र हिमाली गतिविधिलाई एउटै थलोमा अध्ययन अवलोक गर्न सकिने पर्वतीय सङ्ग्रहालयमा हालसम्म २० लाखभन्दा बढी आन्तरिक एवं बाह्रय पर्यटकले टिकट काटेर अवलोकन गर्दा रु १७ करोड ८१ लाख ८० हजार ४३८ आम्दानी भएको कार्यक्रमा जानकारी दिइएको थियो ।

नेपाल पर्वतारोहण सङ्घका केन्द्रीय अध्यक्ष सन्तविर लामाको अध्यक्षतामा भएको कार्यक्रममा टोनी हेगनकी छोरी क्याटिना, सङ्घका महासचिव कुलबहादुर गुरुङ, पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराई लगायतले सङ्ग्रहालयको महत्व माथि प्रकाश पारेका थिए । रासस

ताजा अपडेट

खोजी गर्नुहोस