बैशाख २४,नुवाकोट । काठमाडौंदेखि नजिक रहेको लाङटाङ हिमालमा सरकारले पहिलो पटक हिमाल आरोहण अनुमति प्रदान गरेको छ । लाङटाङ लिरुङ आरोहणका लागि दुई जना जर्मनी नागरिकले अनुमति पाएका हुन् ।
देशकै मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको लाङटाङ क्षेत्रको नाम यही हिमालको नामबाट राखिएको हो । लाङटाङ लिरुङ आरोहणका लागि पहिलोपटक एक विदेशी समूहले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
विभागकी निर्देशक मिरा आचार्यका अनुसार दुईजना जर्मनीले लाङटाङ लिरुङ आरोहणका लागि अनुमति प्राप्त गरेका छन् । निर्देशक आचार्यका अनुसार नेपाल सरकारको मापदण्ड अनुसार उनीहरूले आरोहण शुल्क तिरेर अनुमति पाएका हुन् ।
सम्भवतः काठमाडौंदेखि निकै नजिक रहेको लाङटाङ हिमालको आरोहण अनुमति पहिलो भएको आचार्यले दाबी गरिन् । आचार्यका अनुसार आरोहण अनुमति पाएका दुई जनाले अबको ३५ दिनभित्र आरोहण गरि सक्नुपर्नेछ ।
सात हजार दुई सय ३४ मिटर उचाइको लाङटाङ हिमालमा यसअघि कुनै पनि समूह तथा व्यक्तिबाट आधिकारिक रूपमा आरोहण गरिएको थिएन । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ क्यान्जिनमा रहेको लाङटाङ लिरुङ आरोहणका लागि सरकारले अनुमति दिएसँगै पर्यटन विकासमा मद्दत पुग्ने नुवाकोट र रसुवाबासीले जनाएका छन् ।