प्रदेश १ सरकारको लक्ष्य : नेपाल भ्रमण वर्ष २०२० मा प्रदेशभित्र पाँच लाख पर्यटक

Post Thumbnail

कार्तिक २१,विराटनगर । नेपाल भ्रमण वर्ष २०२० मा प्रदेशभित्र पाँच लाख पर्यटक भित्र्याउने योजना सफल पार्न प्रदेश नं.१ सरकारले तयारी सुरु गरेको छ ।

त्यसका लागि प्रदेश नं. १ उद्योग, पर्यटन तथा वन वातावरणमन्त्री जगदीशप्रसाद कुशियतको संयोजकत्वमा ५१ सदस्यीय प्रदेशस्तरीय समिति निर्माण गरी काम अगाडि बढाइएको मन्त्रालयका सचिव सञ्जीवकुमार राईले जानकारी दिए ।

यसअघि सङ्घीय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट यस प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न २१ सदस्यीय भ्रमण व्यवस्थापन समिति गठन गरी पठाइएको थियो तर स्थानीय आवश्यकताअनुसार त्यही समितिलाई विस्तार गरी ठूलो बनाएर काम सुरु गरिएको राईले बताए ।

समितिको मातहतमा रहने गरी विभिन्न १२ वटा उपसमिति पनि गठन गरिएको छ । विभिन्न क्षेत्रसँग सम्बन्धित ती उपसमितिसँग भ्रमण वर्ष सफल पार्न गर्नुपर्ने कामको कार्ययोजना माग गरिएको छ । ती सबै उपसमितिको कार्ययोजना आएपछि सोहीअनुसार बजेट विनियोजन गरेर काम अगाडि बढाउने योजना मन्त्रालयको रहेको सचिव राईले बताए ।

भ्रमण वर्ष सफल पार्न गठित मूल समारोह संयोजन उपसमितिले भ्रमण वर्षलाई लक्षित गरी आगामी जनवरी १ मा प्रदेश नं. १ को कुनै पर्यटकीय स्थलमा विशेष कार्यक्रमको आयोजना गर्ने र त्यसको उद्घाटन प्रदेश नं. १ मुख्यमन्त्री शेरधन राईले गर्ने तयारी भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस