तारका गुजुल्टा हटाएपछि सुन्दर बन्यो ठमेल ! अब पर्यटकले आकाशतिर औला नदेखाउलान…

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ पौष ९, बुधबार (५ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

पुस ९,काठमाडौँ । ठमेलमा विजुलीका तार काटिएपछि सुन्दर देखिएको छ । भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै काठमाडौं महानगर, नेपाल टेलिकम, विद्युत प्रधिकरण, महानगरीय प्रहरी कार्यालयको सल्लाहमा ठमेलको तार काट्ने निर्णय गरिएको थियो।

तार काटेपछि बजार छ्यांग देखिएको छ । जताततै अल्झिएका तार, गुजुल्टा, आँखामा बिझाइरहेको थियो। त्यसमा पनि दसथरी चिजबिज अल्झिएर कुरूप देखिएको थियो ।

तार काटिएपछि ठमेलमा बिजुली, टेलिफोन, इन्टरनेटको समस्या भने सुरू भएको छ। यसले काममा बाधा भए पनि बजार सफा हुँदा स्थानीय र व्यापारी खुसी छन्।

‘दिन–प्रतिदिन कुरूप बन्दै गइरहेको बजारबाट अनावश्यक तार हटेपछि उनलाई धेरै वर्ष पहिलेको ठमेल ब्यूँतिएजस्तो लागेको छ।’स्थानीय प्रवेश घिमेर भन्छन ।  यी तार कतिपय पर्यटकका खासखुसका विषय हुन्थे। चोरी औंलाले देखाउँदै माथि फर्केर अचम्म मान्थे– मुख्य बजारका यी तार उनीहरूलाई असुरक्षित र अचम्मलाग्दो हो।

महानगरपालिकाले स्थानीय व्यापारीलाई बोर्ड र फ्लेक्स नराख्न मौखिक निर्देशन दिइसकेको छ। बाहिर सडकसम्म आइपुग्ने गरी राखिएका बोर्डले बजार सौन्दर्य बिगारेको व्यवसायीहरू नै स्वीकार्छन्।

स्थानीय नवीन महर्जन १५ वर्षदेखि ठमेलमा पस्मिना व्यवसाय गर्दै आएका छन्। उनको पसलको विज्ञापन अंकित फ्लेक्स सडकसम्म आइपुगेको छ। उनी आफूलाई पनि आफ्नो बोर्डले सडक ओगटेको मनपरेको छैन। तर सबैले राखिसकेपछि आफ्नो व्यवसाय ओझेल पर्छ कि भन्ने डर पनि छ।

फ्लेक्स राख्न नपाउने नियम लागू भए आफूले नराख्ने बताउँदै उनले भने, ‘तारको गुजुल्टो मात्रै हटाउँदा यति सफा देखिएको छ। बोर्ड पनि हट्यो भने झन् राम्रो देखिन्छ। म पनि राख्दिनँ, अरूले पनि नराखून्।’

धमाधम तार काट्न थालेदेखि ठमेल इन्टरनेट र टेलिफोन कम्तिमा १५ दिन अवरुद्ध हुने बताइएको छ। एक साता बितिसक्यो। यससँगै इन्टरनेटमा आधारित व्यवसाय एक्जोटिक माउन्टेन ट्रेक सञ्चालक शंकर पाठक घाम तापेर बसेका छन्।

सहर सुन्दर हुँदा उनलाई खुसी लागेको छ तर व्यवसाय नै बन्द गरेर बस्नुपर्दा भने अलि दुःखी देखिए।

‘पहिल्यै हटाउनुपर्थ्यो, ढिलै भए पनि काम भयो, खुसी लागेको छ,’ पाठकले तारिफसँगै गुनासो गरे, ‘पूर्वाधार तयार गरेर काम गरेको भए सजिलो हुन्थ्यो। सेवाग्राही आएर फर्किएर जानुपरेको छ।’

यतिबेला धेरै पर्यटक क्रिसमस र नयाँ वर्षका लागि आफ्नो देश फर्किने तयारीमा छन्। नयाँ वर्षमा आएका पर्यटकलाई राम्रो व्यवस्थापन गर्नुपर्ने थियो। काम रोकिएको सुनाउँदै पाठकले भने, ‘भ्रमण वर्षको सुरुआतमा यो राम्रो सन्देश होइन।’

अवरूद्ध सेवा चाँडै सञ्चालन होस् भन्ने मात्र आफूहरूको चाहना रहेको भन्दै अब आउने पर्यटकलाई ठमेलको सुन्दर दृश्य देखाउन पाउनेमा पाठक लगायतका पर्यटन व्यवसायी ढुक्क छन्।

लेखक बुद्धिसागरका शब्दमा भन्दा, ‘वर्षौं कपाल नकाटेको, नकोरेको, दाह्री–जुँगा पालेको मान्छेजस्तो देखिने ठमेल एकाएक चट्ट कपाल, दाह्री–जुँगा मिलाएको ह्यान्डसम ठिटोजस्तो भएको छ।’

सहकार्य :सेतोपाटी

ताजा अपडेट

खोजी गर्नुहोस