मंसिर १६,काठमाडौँ । नेपाल घुम्न आउने पर्यटक संख्या ११ महिनामै १० लाख नाघेको छ । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमन संख्याले तेस्रो पटक १० लाख नाघेको हो । २०२४ नोभेम्बरमा १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका अनुसार नोभेम्बरमा भारतबाट १९ हजार ९ सय १५ जना आएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा साढे १८ प्रतिशतले कम हो । त्यसबेला २४ हजार ४ सय ४३ जना आएका थिए ।
अमेरिकाबाट १० हजार ९ सय ८१ आएका छन् । बेलायतबाट ६ हजार ६ सय ११ आएका छन् । चीनबाट ९ हजार ४ सय ५८ आएका छन् । चिनियाँ पर्यटक गत वर्ष नोभेम्बरको तुलनामा साढे २४ प्रतिशतले बढेका हुन् ।
त्यस्तै अस्ट्रेलियाबाट ४ हजार ८ सय २९ जना आएका छन् । गत नोभेम्बरमा बंगलादेशबाट ५ हजार १ सय ४८ र श्रीलंकाबाट ४ हजार ३ सय ९५ जना आएका थिए ।
बोर्डका अनुसार गत नोभेम्बरमा सार्क राष्ट्रबाट ३१ हजार १ सय ६७, अन्य एसियाली देशबाट २४ हजार ८ सय ९७, युरोपबाट २६ हजार १ सय ५५ र मध्यपूर्वबाट १ हजार ४ सय ८८ पर्यटक नेपाल आइपुगेका थिए । २०२३ नोभेम्बरमा १ लाख ८ हजार ६ सय ३० आएका थिए । २०२४ नोभेम्बरमा ५.४ प्रतिशतले बढेका छन् ।
२०२४ मा कुन महिना कति पर्यटक आए ?
जनवरी- ७९ हजार १ सय,
फेब्रुअरी-९७ हजार ४ सय २६
मार्च-१ लाख २८ हजार १ सय ६७
अप्रिल-१ लाख ११ हजार ३ सय ७६,
मे-९० हजार २ सय ११,
जुन- ७६ हजार ७ सय ३६,
जुलाई- ६४ हजार ५ सय ९९,
अगस्ट- ७२ हजार ७ सय १९,
सेप्टेम्बर- ९६ हजार ३ सय ५
अक्टोबर- १ लाख २४ हजार ३ सय ९३
नोभेम्बरम- १ लाख १४ हजार ५ सय १