माघ १६,धादिङ । धुनिबेशी नगरपालिका वडा न १ र २ मा रहेका कृषि, धार्मिक तथा ऐतिहासिक पर्यटन र विकासलाई प्रबर्दन गर्ने उद्देश्यका साथ विभिन्न धार्मिक स्थलको अवलोकन तथा पदयात्रा कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार धुनिबेशी नगरपालिका वडा नम्बर १ र २ भित्र रहेका बच्छलादेवि मन्दिर, अनन्त नारायण मन्दिर, महेशनारायण गुफा, दमदमे गाँउ, झ्याम्पल झरना, गैरिगाउँ, चिलाउँनेगाउँ लगायतको क्षेत्र अवलोकन गरिएको छ । समृद्ध धादिङ अभियान अन्तर्गत सो पदयात्रा तथा अवलोकन भ्रमण राखिएको युवा नेता तथा समाजसेवी कुमार पाण्डेले अनलाइनकेन्द्रलाई बताए । उनले सो अभियान आउने दिनहरुमा पनि गरिने जानकारी दिए ।
धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले खासगरी धुनिवेशी १ मा रहेको पर्यटकिय क्षेत्रको सम्भावना र गर्न सकिने प्रयासहरुका विषयमा थप अध्ययन गर्नपनि पदयात्राले सहयोग पुर्याउने बताए । आचार्यले धुनिवेशीमा लाखौँ आन्तरिक पर्यटकलाई यहाँको रमणिय क्षेत्र र पर्यटकिय गञ्तव्यका विषयमा जानकारी र प्रचार गर्न सकिए सम्मृद्ध नगरपालिकाको परिकल्पनालाई थप टेवा पुग्ने बताए ।
धुनिवेशी नगरपालिका १ का वडा अध्यक्ष मानबहादुर तामाङले वडाका पर्यटकिय गञ्तव्यको प्रचार गर्ने उदेश्यले सो पदयात्रा आयोजना गरिएको बताए । उनले १ नम्बर वडामा पर्यटकलाई आर्कषित गर्न थुप्रै गञ्तव्य रहेकोले सबैले प्रचार गर्नुपर्नेमा जोड दिए । उनले महेशनारायण गुफा र झ्याम्पल झरनाको प्रचारमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
पदयात्रा कार्यक्रममा नगर प्रमुख बालकृष्ण आचार्य, वडाध्यक्ष मान बहादुर तामाङ, समाजसेवी कुमार प्रसाद पाण्डे, बिनोद राज पाण्डे,डा.रामहरि लामिछाने,सुवास खतिवडा,माधव गजुरेल, लगायत करिव ५० जनाको सहभागिता रहेको थियो।
उहाँ राज ढुंगाना अनलाइन केन्द्र डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |