भाद्र २३,काठमाडौँ । उत्तरी जापानको होक्काइदो प्रिफेक्चरमा मा विहिवार विहानै गएको ठूलो भुकम्पमा परि ज्यान गुमाउनेहरुको संख्या शनिवार विहानसम्म १८ पुगेको छ । ३९० जना भन्दा बढि घाइते भएको र भूकम्पका कारण हराइरहेका अन्य २१ जनाको खोजीकार्य भैरहेको छ ।
जापानी अधिकारीहरुलाई उदृत गर्दै क्योदो न्यूजले जनाएअनुसार मृत्यु भएका मध्ये ९ जनाको शव भूकम्पबाट भत्किएका संरचना तथा पहिरोमा पुरिएको अवस्थामा भेटिएको हो ।
हराईरहेका व्यक्तिहरु भूकम्पबाट भत्किएका घर तथा संरचनामा रहेको गरिएको छ । शनिवार सो क्षेत्रमा ठूलो बर्षा हुनसक्ने पूर्वानुमान रहेको हुँदा यहाँको मौषम एजेन्सिले सो क्षेत्रमा फेरिपनि ठूलो पहिरो जानसक्ने भन्दै सचेत गराएको छ । साथै पराकम्पहरु गइरहने हुँदा सुरक्षित रहन भनेको छ । बिहिबार बिहान ३ बजेको समयमा गएको ६।७ म्याग्निच्यूडको शक्तिशालि भूकम्प पश्चात सो क्षेत्रमा १ सय बढी पटक पराकम्पको झड्का महशुस गरिएको छ ।
भूकम्पमा परि मृत्यु हुने र बेपत्ता हुने अधिकाशं भूकम्पको केन्द्र रहेको आत्सुमा नगरका रहेका छन् । सोही क्षेत्रमा विशेष उपकरणहरु सहित खोजीकार्य लाई प्राथमिकतामा राखिएको एनएचके अनलाइनले जनाएको छ ।
भूकम्पलगत्तै बन्द भएको विद्युत आपूर्ति करिव ९९ प्रतिशत सूचारु भैसकेको होक्काइदो इलेक्ट्रिक पावर कम्पनीले जनाएको छ । वाँकी स्थानहरुमा शनिवारसम्म सूचारु हुने बताइएको छ ।
भूकम्पका कारण ६६ हजार घरहरुमा पानीको आपूर्ति पनि रोकिएको थियो । त्यसलाई पनि सूचारु गर्ने प्रयास भैरहेको र आधा जति भागमा सूचारु भैसकेको बताइएको छ । हाल अस्थायी पानी वितरण स्थलहरु निर्माण गरि पानीको आपूर्ति गरिएको छ । प्रभावित क्षेत्रका १० हजार जनाभन्दा बढि अस्थायी शिविरहरुमा छन् ।
यातायातका साधनहरु विस्तारै चल्न सुरु गरेका छन् भने केही ट्रेन तथा बस लाइनहरुले आजदेखि सेवा सुरु गर्ने बताएका छन् । होक्काइदो रेल्वे कम्पनीले आफ्नो बुलेट ट्रेन सूचारु भएको जनाएको छ ।
भूकम्पका कारण क्षति पुगेपछि रोकिएको न्यू चितोसे विमानस्थलले आफ्नो आन्तरिक उडानहरु सूचारु गरेको छ । शनिवार विहानैदेखि अन्तराष्ट्रिय उडानहरु पनि सुरु हुने बताइएको छ ।
अधिकारीहरुले सो क्षेत्रमा हप्तादिन भित्रमा अर्को शक्तिशालि पराकम्प जानसक्ने भन्दै सचेत रहन आग्रह गर्दै आएका छन् ।
२०१६ मा कुमामोतो प्रिफेक्चरमा पनि अहिलेकै बराबरको भूकम्प गएको थियो जुन २०११ को ९ म्याग्निच्यूडको भुकम्पपछि मापन गरिएको ठूलो भूकम्प थियो । यो बर्ष मात्र जापानमा विभिन्न प्राकृतिक प्रकोपहरुले पीडा दिइरहेको छ । केही दिन अघिमात्रै २५ बर्ष यताकै ठूलो आँधिको सामना गरेको जापानमा गत जुनमा पनि ओशाका प्रिफेक्चरमा गएको भूकम्पमा परि ५ जनाको मृत्यू भएको थियो भने ३७० भन्दा बढि घाइते भएका थिए ।