श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले राजीनामा दिने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ मंसिर २८, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर २८, काठमाडौं । झन्डै दुई महिनाअघि सपथ लिएका श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिने भएका छन्।

महिन्दा राजापाक्षेका छोरा तथा सांसद नमल राजापाक्षेले शुक्रबार साँझ ट्वीट गर्दै देशको स्थायित्वका लागि आफ्ना बुवाले प्रधानमन्त्रीबाट राजीनामा दिने निर्णय गरेको बताएका छन्। उनका अनुसार शनिबार देशबासीका नाममा सम्बोधन गर्दै राजापाक्षेले राजीनामा घोषणा गर्नेछन्।

नमलले अब उनको दल राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग मिलेर वृहत राजनीतिक गठबन्धन बनाउन लाग्ने पनि बताएका छन्।

प्रधानमन्त्री राजापाक्षेको राजीनामासँगै झन्डै सात हप्तादेखि गहिरिएको यो टापू राष्ट्रको राजनीतिक संकट संग्लिने अपेक्षा गरिएको छ।

यसअघि बिहीबारमात्र श्रीलंकाको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाको कदम अवैधानिक भएको आदेश दिएको थियो। त्यसभन्दा पहिले मंसिर १७ गते एक अर्को अदालतले राजापाक्षेलाई प्रधानमन्त्रीको रूपमा काम नगर्न भनेको थियो।

गत अक्टोबर २६ मा राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई हटाएर पूर्वराष्ट्रपति राजापाक्षेलाई नियुक्त गरेपछि यो टापु राष्ट्रमा राजनीतिक संकट सुरू भएको थियो।

राष्ट्रपतिले बर्खास्त गरे पनि आफू वैधानिक प्रधानमन्त्री भएको दाबी गर्दै विक्रमासिंघेले पद छोड्न इन्कार गरेका थिए।

झन्डै २ महिनाको शक्ति संघर्षपछि पूर्वराष्ट्रपति राजापाक्षे पछि हटेका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस