पौष ५, काठमाडौं । बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नाममा थुप्रै सम्मान प्राप्त गरिसकेका छन् तर हालैमा उनको नाम एउटा गड्यौँला जस्तै देखिने माटोमा शिर लुकाउने आँखा नदेख्ने जीवलाई दिइएको हो । केही समय अगाडि मात्र फेला पारिएको सो जलथल प्राणीको नाम ‘डर्मोफिस डोनाल्डट्रम्पी’ राखिएको छ । वास्तवमा ट्रम्पले जलवायु परिवर्तनबारे गरेको टिप्पणीको प्रतिक्रियामा यस्तो तय गरिएको बताइएको छ ।
पानामामा फेला पारिएको यो जीवको नाम राख्न विशेषाधिकारका निम्ति एउटा कम्पनीले निलामीमा २५ हजार डलरको बोली लगाएको थियो । त्यही कम्पनीका प्रमुखले जलवायु परिवर्तनबारे विश्वमा चेताना फैलाउन यस्तो नाम राखेको बताएका छन् । वास्तवमा डर्मोफिस डोनाल्डट्रम्पी पनि जलवायु परिवर्तनको प्रभावमा अत्यन्तै संवेदनशील बनेको बताइएको छ । यस्तोमा यो प्राणी अनुचित जलवायु नितीको परिणाम स्वरुप लोप हुने खतरामा रहेको ‘एन्भारो बिल्ड’ का सहसंस्थापक एड्रियन बेलले बताएका हुन् ।
ad ad ad
यसरी बेलले आँखा नदेख्ने सो जीव र ट्रम्पको व्यवहारको अनाकर्षक ढङ्गमा तुलना गर्दै सो नाम उल्लेख गरेका हुन् । ‘आफ्नो टाउको माटोमुनि लुकाउँदा यसले मानवीय जलवायु परिवर्तनका नतिजाबाट पन्छिन डोनाल्ड ट्रम्पलाई पनि उत्तिकै मद्दत गर्न सक्छ’ उनले भनेका हुन् ।
अहिले विश्वका सबै शिर्ष वैज्ञानिकहरुले जलवायु परिवर्तन मानव व्यवहारकै परिणाम भएको स्वीकार गरिरहेका छन् । तरपनि ट्रम्प प्रशासनले भने यो विषयमा वैज्ञानिहरुको राजनीतिक एजेन्डा रहेको आरोप लगाउँदै पृथ्वीको तापमान बढ्दै जानुमा मानिसहरु जिम्मेवार भएकामा शंका व्यक्त गर्दै आएको छ । गत अक्टोबरमा मात्र ट्रम्पले एक घण्टा लामो अन्र्तवार्तामा बोल्दै भने, ‘मलाई यो मानवले सिर्जना गरेको समस्या जस्तो लाग्दैन । यसकारण म पृथ्वीको तापमान पछि आफैँ सामान्य अवस्थामा पुग्छ भन्ने पक्षमा छु ।’
त्यसैगरी पछिल्लो महिना ट्रम्पले आफ्नै सरकारले पेश गरेको रिपोर्टमाथि पनि प्रश्न उठाएका थिए । सो रिर्पोटमा जलवायु परिवर्तनले अमेरिकाको वार्षिक सयौँ अर्ब डलर खर्च बढाउने र स्वास्थ्यमा पनि उत्तिकै खराब असर पार्ने उल्लेख गरिएको थियो । त्यसबेला ट्रम्पले संचारकर्मीहरुसँग बोल्दै ‘म यसमा विश्वास गर्दिनँ’ भनेका थिए ।
यस प्रकार राष्ट्रपति नियुक्त हुनासाथै ट्रम्पले पेरिस जलवायु सम्झौताबाट बाहिरिएर ठूलो विवाद खडा गरेका थिए । यसको स्पष्टिकरणमा उनले आफू पेरिसका लागि नभएर अमेरिकी जनताका लागि मात्र काम गर्ने र सो सम्झौताले अमेरिकी कामदार र व्यवसायहरुलाई घाटा गराइरहेको बताउने गरेका छन् ।