पौष ११, काठमाडौं । बङ्गलादेशको प्रहरीले निर्वाचनका समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार ५ सय कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले जनाएका छन्।
संयुक्त राज्य अमेरिकाले बङ्गलादेशको प्रधानमन्त्री शेख हसिनाको सरकारलाई निर्वाचन स्वच्छ तथा स्वतन्त्ररूपमा सम्पन्न गर्न सरकारबाट विश्वासको वातावरण बनाउन गरेको आग्रहपछि प्रतिपक्षबाट उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो।
तेस्रो कार्यकाल सम्पन्न गरिसकेकी प्रधानमन्त्री हसिनाले चौथो कार्यकाल जितेर कीर्तिमानी कायम गर्ने लक्ष्यसाथ निर्वाचनमा आफ्ना सक्रिय कार्यकर्ता तथा समर्थकहरूलाई विभिन्न आरोपमा प्रहरी हिरासतमा लिएको आरोप बङ्गलादेश नेशनालिस्ट पार्टी (बिएनपी) ले लगाएको छ।
प्रतिपक्षी दलहरूले बङ्गलादेशको सरकारले नोभेम्बर ८ मा निर्वाचनको आह्वान गरेपछि निरन्तर ‘भयको वातावरण’ रहँदै आएको दाबी गरेका छन्।
पूर्व प्रधानमन्त्री तथा नेता खालिदा जिया, जसले १७ वर्षको जेल सजाय व्यतित गरिरहेका छन्, उनको दल बिएनपीले निर्वाचनको प्रचारप्रसारको सिलसिलामा आफ्ना ७ हजार २१ कार्यकर्तालाई पक्राउ गरिएको बताए छ।
बिएनपीको इस्लामिक सहयोगी जमात–ए–इस्लामीका ३ हजार ५ सय समर्थकलाई निर्वाचनलाई लक्षित गरी थुनामा राखिएको उक्त दलले जनाएको छ।
जमात–ए–इश्लामीलाई राष्ट्रियतामा प्रभाव पार्ने गतिविधि र आतङ्कवादलाई प्रोत्साहन गरेको आरोपमा निर्वाचनमा प्रतिबन्ध लगाइएको छ।
‘देशभरबाट हरेक दिन ८० देखि ९० कार्यकर्तालाई पक्राउ गरिने गरिएको छ। यसले निर्वाचन स्वतन्त्ररूपमा हुने सम्भावना विपरित भयको वातावरण सिर्जना गरेको छ,’ जमातका महासचिव शफिकर रहमानले बताए।