फागुन २१, काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको सोमबार बताएका छन् ।
स्थानीय जनताको चाहना अनुसार काश्मिर समस्या समाधान गर्नेलाई व्यक्ति सो पुरस्कारका लागि योग्य हुने उनले स्पष्ट पारे ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “म नोबेल शान्ति पुरस्कार पाउन योग्य छैन । त्यसका लागि योग्य त्यो हुनेछ जसले काश्मिरका जनताको इच्छा अनुसार काश्मिर विवादको अन्त्य गराउनेछ ।”
भारत र पाकिस्तानबीचमा तनाव बढिरहेका बेला पाकिस्तानको नियन्त्रणमा रहेको भारतीय विमान चालकलाई रिहा गरिदिएपछि इमरानलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न माग गर्दै अभियान नै चलाइएको छ ।
इमरानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने मागको पक्षमा झण्डै तीन लाखभन्दा बढी मानिसले हस्ताक्षर गरिसकेका छन् ।
देशभरी चलाइएको हस्ताक्षर अभियान र दवाव अनुसार पाकिस्तानका सूचना मन्त्री फावाद चौधरीले प्रधानमन्त्री खानलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न संसदमा प्रस्ताव पनि दर्ता गराएका छन् ।
पाकिस्तानले नियन्त्रणमा लिएको भारतीय वायुसेनाका चालक अभिनन्दन वर्तमानलाई उनकै देशमा फिर्ता पठाएपछि विश्वव्यापीरुपमा प्रधानमन्त्री इमरानको प्रशंसा भएको छ ।